महाधिवेशनमा हुने आन्तरिक प्रतिस्पर्धाको परिणाम जस्तोसुकै आए पनि पार्टी बलियो बनाउनुपर्छ : राणा

हिमाल प्रेस ३ असोज २०८३ ११:०४ | Saturday, September 19, 2026
महाधिवेशनमा हुने आन्तरिक प्रतिस्पर्धाको परिणाम जस्तोसुकै आए पनि पार्टी बलियो बनाउनुपर्छ : राणा

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री उदय शम्सेर राणाले १५औँ महाधिवेशनमा हुने आन्तरिक प्रतिस्पर्धाको परिणाम जस्तोसुकै आए पनि त्यसले कांग्रेसलाई बलियो बनाउनुपर्ने बताएका छन्।

संविधान दिवसका अवसरमा शनिबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै राणाले महाधिवेशनलाई स्वस्थ प्रतिस्पर्धा, विचार र लोकतान्त्रिक संस्कारको अभ्यासका रूपमा अघि बढाउन आग्रह गरेका हुन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शनिबारदेखि देशभर वडा अधिवेशनको प्रक्रिया सुरु भएको छ। पार्टीको निर्वाचन कार्यक्रमअनुसार असोज ३ वा ४ गते स्थानीय अनुकूलताका आधारमा वडा अधिवेशन सञ्चालन हुँदैछ।

‘आफ्ना विचार राखौँ, योजना प्रस्तुत गरौँ र साथीहरूको विश्वास जितौँ,’ राणाले भनेका छन्, ‘प्रतिस्पर्धामा जसले जिते पनि त्यो जित नेपाली कांग्रेसको हुनुपर्छ।उनले १५औँ महाधिवेशन कांग्रेसको आन्तरिक विषयमा मात्रै सीमित नरहेको उल्लेख गर्दै यससँग पार्टी सदस्यहरूको आकांक्षासँगै आमनागरिकको आशा पनि जोडिएको बताएका छन्। ‘हामी सबैको साझा गन्तव्य सबल कांग्रेस, सुदृढ लोकतन्त्र र समुन्नत नेपाल हो,’ राणाले भनेका छन्।

वडा अधिवेशनमा सहभागी नेता, कार्यकर्ता, विभिन्न तहमा नेतृत्वका आकांक्षी तथा निर्वाचन सम्पन्न गराउने जिम्मेवारीमा रहेकाहरूलाई उनले शुभकामना दिएका छन्।राणाले संयम, सहकार्य र लोकतान्त्रिक संस्कारका साथ महाधिवेशन सम्पन्न गर्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

यससँगै उनले संविधान दिवसको शुभकामना दिँदै लोकतन्त्र, नागरिक अधिकार र जनताको सार्वभौमसत्ताका लागि योगदान पुर्‍याएका अग्रजहरूप्रति सम्मान तथा सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

प्रकाशित: ३ असोज २०८३ ११:०४ | Saturday, September 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast