क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

हिमाल प्रेस ४ असोज २०८३ १४:१५ | Sunday, September 20, 2026
क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

काठमाडौँ- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा विशेषज्ञ सेवा लिन क्षेत्रगत विज्ञहरूको राष्ट्रिय रोस्टर तयार गर्ने भएको छ।

मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित क्षेत्रमा योग्यता तथा अनुभव भएका इच्छुक नेपाली नागरिकलाई असोज ८ गतेसम्म आवेदन दिन आह्वान गरेको हो।

मन्त्रालयका अनुसार नीति तथा कानून निर्माण तथा समीक्षा, योजना तथा कार्यक्रम तर्जुमा, अध्ययन तथा अनुसन्धान, अनुगमन तथा मूल्यांकन, तालिम तथा क्षमता विकास र प्राविधिक तथा विषयगत परामर्शलगायतका कार्यलाई थप प्रभावकारी, तथ्यमा आधारित र विशेषज्ञतामुखी बनाउन विज्ञहरूको रोस्टर तयार गर्न लागिएको हो।

मन्त्रालयले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, सामाजिक सुरक्षा, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम तथा सामाजिक समावेशीकरणलगायतका क्षेत्रमा विशेषज्ञता र अनुभव भएका व्यक्तिबाट आवेदन मागेको छ।

यसबाहेक मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित अन्य विषयमा विशेषज्ञता हासिल गरेका व्यक्तिले समेत आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।

रोस्टरमा सूचीकृत हुन इच्छुक आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ। प्रचलित कानूनबमोजिम कुनै पद वा जिम्मेवारीका लागि अयोग्य नठहरिएको हुनुपर्ने मन्त्रालयले जनाएको छ।

आवेदनसँग नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, अद्यावधिक वैयक्तिक विवरण अध्ययन, अनुसन्धान वा प्रकाशनसम्बन्धी विवरण तथा आफ्नो विज्ञता र विशेषज्ञता पुष्टि हुने आवश्यक कागजात संलग्न गर्नुपर्नेछ।

मन्त्रालयले तोकेको माध्यमबाट आवेदन अनलाइन वा भौतिक रूपमा पेस गर्न सकिने जनाएको छ।

आवेदकको शैक्षिक योग्यता, कार्यानुभव, विशेषज्ञता तथा अन्य विवरण आवश्यकता अनुसार सत्यापनसमेत गरिने मन्त्रालयले जनाएको छ।

त्यसक्रममा सम्बन्धित सरकारी निकाय, सार्वजनिक संस्था, शैक्षिक तथा पेसागत संस्था वा अन्य सम्बन्धित निकायबाट आवश्यक सन्दर्भ तथा जानकारी लिन सकिनेछ।

सूचीकृत विज्ञहरूको विशेषज्ञता महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, सामाजिक सुरक्षा, दलित, मधेशी, मुस्लिम तथा सामाजिक समावेशीकरणलगायतका क्षेत्रमा नीति तथा कानून निर्माण र समीक्षा, अध्ययन-अनुसन्धान, योजना तथा कार्यक्रम तर्जुमा, अनुगमन तथा मूल्यांकन, तालिम तथा क्षमता विकास र विषयगत परामर्शमा उपयोग गरिने मन्त्रालयले जनाएको छ।

विभिन्न सामाजिक समूहसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयका नीति तथा कार्यक्रमलाई अनुसन्धान, अनुभव र विषयगत ज्ञानसँग जोड्न व्यवस्थित विज्ञ रोस्टर उपयोगी हुने मन्त्रालयको अपेक्षा छ।

रोस्टरले आवश्यक परेको समयमा सम्बन्धित क्षेत्रका उपयुक्त विज्ञ पहिचान गरी विशेषज्ञ सेवा परिचालन गर्न सहज हुने विश्वास मन्त्रालयले लिएको छ।

मन्त्रालयले योग्यता तथा अनुभव पुगेका सम्बन्धित क्षेत्रका विज्ञ र पेसाकर्मीलाई निर्धारित समयभित्र आवेदन पेस गर्न आग्रह गरेको छ।

प्रकाशित: ४ असोज २०८३ १४:१५ | Sunday, September 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast