फाइल तस्बिर
काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनी विद्रोही समूह हुथीले अमेरिकामाथि आक्रमण नगर्ने सहमति जनाएको बताएका छन्।
इरानसँग गठबन्धन गरेको यो समूहले अमेरिकी सहयोगी साउदी अरबविरुद्धको युद्धलाई तीव्र बनाएको छ।
प्रायः राष्ट्रपति ट्रम्पसँग अन्तवार्ता लिने नेटवर्कका रिपोर्टर ट्रे यिङ्गस्टले ट्रम्पको भनाइ उद्धृत गर्दै लेखेका छन्, ‘वासिङटन ‘हुथीहरूसँग निरन्तर सम्पर्कमा छ र उनीहरूले संयुक्त राज्य अमेरिकासँग नलड्ने सहमति’ जनाएका छन्।’
राष्ट्रपति ट्रम्पले यसअघि पनि हुथीहरू क्षेत्रमा रहेका अमेरिकी सेनामाथि आक्रमणमा नउत्रिएको बताएका थिए।
‘हुथीहरूले हामीलाई फोन गरी जानकारी गराएका छन्, उनीहरू हामीसँग लड्न चाहँदैनन्,’ राष्ट्रपति ट्रम्पले आयरल्यान्ड भ्रमणका क्रममा भनेका थिए, ‘उनीहरू हामीलाई आक्रमण गर्न चाहँदैनन्।’
फक्स न्युजलाई दिएको पछिल्लो टिप्पणी नजिकको अमेरिकी सहयोगी साउदी अरब बढ्दो दबाबमा रहेको समय आएको हो। शनिबार राजधानी रियादलाई लक्षित गरी एक मिसाइल प्रहार भएको थियो।
हुथीहरूले यमनभित्र पनि तीव्र आक्रमण गरेका छन् र अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारबाट ठूलो भूभाग कब्जा गरेका छन्। यो सरकारलाई साउदी अरबको नेतृत्वमा रहेको सैन्य गठबन्धनको समर्थन छ।


