‘सरकार सामाजिक सञ्जालमा प्रचार र हल्लामा मात्र अल्झियो’

हिमाल प्रेस १७ भदौ २०८३ १५:३४ | Wednesday, September 2, 2026
‘सरकार सामाजिक सञ्जालमा प्रचार र हल्लामा मात्र अल्झियो’

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपद् व्यवस्थापनमा सरकारी कामको अनुगमन तथा निर्देशनका लागि ‘संसदीय उच्चस्तरीय विशेष समिति’ तत्काल गठन गर्न माग गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा नेता आङदेम्बेले विपद्को तत्कालीन व्यवस्थापन, दीर्घकालीन पुनस्र्थापना, पुनर्निर्माण, विपद् जोखिम न्यूनीकरण र सरकारी कामको अनुगमन तथा निर्देशनका लागि ‘संसदीय उच्चस्तरीय विशेष समिति’ तत्काल गठन गर्न माग गरेका हुन्।

उनले सरकारलाई आवश्यक सहयोग गर्न कांग्रेस तयार रहेको भन्दै कमजोरीमा खबरदारी गर्ने र नागरिकको जीवन रक्षाका सवालमा कुनै सम्झौता नगर्ने स्पष्ट पारे। उनले अहिले प्रचार, दोषारोपण वा राजनीतिक संख्या खोज्ने समय नभई राष्ट्र एकजुट भएर पहिले प्राण बचाउने, बेपत्ता खोज्ने, राहत दिने र पुनर्निर्माण गर्ने नै मुख्य प्राथमिकता हुनुपर्ने धारणा राखे।

नेता आङदेम्बेले विपद्पछि स्थानीय सरकारसँग समन्वय नगरेको निजी क्षेत्र तथा प्राविधिक÷विज्ञहरूलाई कार्यक्षेत्रमा जान रोकेको र सरकार आफैँले ७ दिनसम्म ठोस कदम नचालेर पछि ‘सुरुङ आफैँ खोज’ भनेको भन्दै आपत्ति जनाए।

उनले संवेदनहीनता र ढिलासुस्तीका कारण सुरुङभित्र भएका नागरिकहरूको ज्यान जानु ‘मृत्यु मात्र हो कि हत्या?’ भन्दै सरकारसँग जवाफदेहिताको माग गरे। नेता आङदेम्बेले आफन्तको खोजीमा रहेका पीडित परिवारहरूमाथि धम्की, गालीगलौज र अपशब्द प्रयोग भएको भन्दै आपत्ति जनाए।

सरकार फिल्डमा काम गर्नुभन्दा फेसबुक तथा सामाजिक सञ्जालमा प्रचार र हल्लामा मात्र अल्झिएको उनले आरोप लगाए। त्यस्तै उनले मन्त्री तथा सरकारी दलका छुट्टाछुट्टै समानान्तर संयन्त्र र संरचनाहरूले उद्धार, राहत र पुनर्निर्माणमा सहयोग पुग्नुको साटो अवरोध पु¥याएको जिकिर गरे।

प्रचारमुखी संयन्त्र छाडेर संघीय सरकारले नै निजी क्षेत्रसहित सबैलाई एकीकृत समन्वय र जिम्मेवारी बाँडफाँड गर्नुपर्ने उनले बताए।

प्रकाशित: १७ भदौ २०८३ १५:३४ | Wednesday, September 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast