सेनाले विस्फोट गराएर ढुंगा हटाएपछि तीन दिनपछि खुल्यो बेँसीसहर-चामे सडक

हिमाल प्रेस २ असोज २०८३ १२:२६ | Friday, September 18, 2026
सेनाले विस्फोट गराएर ढुंगा हटाएपछि तीन दिनपछि खुल्यो बेँसीसहर-चामे सडक फाइल तस्बिर।

लमजुङ- पहिरोले बुधबार बिहानदेखि अवरुद्ध बनाएको बेँसीसहर-चामे सडक तीन दिनपछि सञ्चालनमा आएको छ।

यस सडकअन्तर्गत मनाङको नासोँ गाउँपालिका-३ खोत्रेमा गएको पहिरो नेपाली सेनाले बम विस्फोट गराएर ढुंगा तथा पहिरो हटाएसँगै आज बिहानदेखि सडक सञ्चालनमा आएको डुम्रे-बेँसीसहर-चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिए।

उनका अनुसार खोत्रेमा पहिरोसँगै ठूलाठूला ढुंगा खसेका थिए। तीमध्ये एउटा ढुंगा निकै ठूलो थियो। सडक अवरुद्ध भएपछि उक्त ढुंगा हटाउन बिहीबार पनि बम विस्फोट गराइएको थियो।

पहिलो पटकको विस्फोटबाट ढुंगा पूर्ण रूपमा नफुटेपछि आज पुनः विस्फोट गराई ढुंगा फुटाएर पहिरो पन्छाइएको उनले बताए।

सडक खुलेसँगै साना सवारीसाधन सञ्चालनमा आएका छन्। सडक सञ्चालनमा आएपछि मनाङतर्फ आवतजावत गर्ने यात्रुलाई सहज भएको छ।

ठूला सवारीसाधन सञ्चालनमा ल्याउन भने अझै केही समय लाग्ने सूचना अधिकारी विष्टले बताए। करिब ६५ किलोमिटर लामो बेँसीसहर-चामे सडक मनाङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मुख्य मार्ग हो।

मनाङवासीको आवतजावतसँगै दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्रीको ढुवानी र पर्यटकीय आवागमनका लागि यो सडक महत्वपूर्ण मानिन्छ।

प्रकाशित: २ असोज २०८३ १२:२६ | Friday, September 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast