तस्बिर एआई निर्मित
बागलुङ- बागलुङको गलकोट नगरपालिका-१ दुदिलाभाटीकी छममाया बुढाथोकीलाई नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुग्नुपर्ने थियो। तर, सोही दिनदेखि बागलुङ र पर्वतका विभिन्न ठाउँमा पहिरो तथा नदी कटानका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध भएपछि उनी समयमा अस्पताल पुग्न सकिनन्।
बागलुङ खण्डको सडक सञ्चालनमा आएपछि सोमबार बिहान सदरमुकाम आएकी बुढाथोकीलाई पर्वत हुँदै पोखरा पुग्न पनि सास्ती व्यहोर्नुपर्यो। बागलुङ बजारबाट झोलुङ्गे पुल तरेर पर्वतको अदुवाबारी हुँदै पाङसम्म करिब ४५ मिनेट पैदल हिँडेपछि मात्र उनले पोखराका लागि गाडी भेटाइन्।
बागलुङ र पर्वतको सीमा मालढुंगामा कालीगण्डकी नदीमाथिको पुल भत्किएपछि यात्रु वैकल्पिक सडक प्रयोग गर्न बाध्य भएका छन्।
मालढुंगाको पुलसँगै पर्वतको कुश्मा नगरपालिका-२ नयाँपुलमा कालीगण्डकी नदीले सय मिटरभन्दा बढी सडक कटान गरेपछि मध्यपहाडी लोकमार्ग हुँदै बागलुङ, पोखरा तथा बाहिरी गन्तव्यमा जाने यातायात सेवा प्रभावित भएको छ। लुम्बिनी र कर्णाली प्रदेशका पहाडी जिल्लाबाट यही लोकमार्ग हुँदै काठमाडौँ जाने यातायातका साधनसमेत सञ्चालन हुन सकेका छैनन्।
मध्यपहाडका अधिकांश जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लोकमार्ग अवरुद्ध भएपछि बिरामी र अशक्त यात्रु बढी प्रभावित भएका छन्। बिरामी लिएर पोखरा आएका बागलुङको काठेखोला गाउँपालिका-३ धम्जाका प्रेम श्रीसले मालढुंगाको पुल छिटो पुनर्निर्माण गर्नुपर्ने बताए।
‘बागलुङ जोड्ने मुख्य सडक र पुलमा क्षति पुगेकाले आवतजावत र ढुवानीमा ठूलो समस्या देखिएको छ,’ उनले भने,‘राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारले जतिसक्दो चाँडो लोकमार्ग सञ्चालनमा ल्याउनुपर्छ।’
धवलागिरि-गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसीका अनुसार वैकल्पिक सडक प्रयोग गरेर मुस्किलले साना सवारीसाधन मात्र सञ्चालन भइरहेका छन्। ‘बस सञ्चालन गर्न सक्ने अवस्था छैन, सबैभन्दा समस्या बिरामीलाई परेको छ,’ उनले भने, ‘आज बिहानमात्रै बागलुङबाट बिरामीलाई हेलिकप्टरबाट उद्धार गर्नुपर्ने अवस्था आयो।’
उनले लोकमार्गमा क्षति पुगेका सडक तथा पुलको पुनर्निर्माणमा सरकारले तदारुकता देखाउनुपर्ने बताए।
बागलुङबाट पोखरालगायत गन्तव्यमा छुट्ने साना सवारीसाधन कालीगण्डकी करिडोर हुँदै ज्यामिरेघाट-फलेवास भएर करिब एक घण्टा घुमाउरो बाटोबाट पुनः लोकमार्गमा निस्कने गरेका छन्।
बागलुङ-पोखरा चल्ने विद्युतीय माइक्रोबसले बागलुङ बजारबाट पैदल हिँडेर पर्वतको पाङसम्म पुगेका यात्रुलाई अर्मादी हुँदै पोखरा लैजान वैकल्पिक सडक प्रयोग गरिरहेको चालक सुवास परियारले बताए।
‘मालढुंगाको पुल भत्किएपछि ठूलो समस्या भएको छ। यो पुल छिटो बनाउन सरकारले विशेष ध्यान दिनुपर्छ,’ उनले भने, ‘चाडपर्वको बेला छ। यो समयमा हामीले पनि धेरै यात्रुलाई सेवा दिने हो, तर सडक अवरुद्ध हुँदा समस्या भइरहेको छ।’
कालीगण्डकी करिडोरबाट फलेबास हुँदै आउने सडकसमेत वर्षाका कारण क्षति पुगेकाले यात्रा सहज नरहेको परियारले बताए।
पर्वतका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले नयाँपुलमा सडक कटान भएको ठाउँमा अस्थायी रूपमा नयाँ मार्ग खोल्ने काम सुरु भइसकेको बताए। एक-दुई दिनभित्र एकतर्फी रूपमा यातायात सञ्चालन गर्ने गरी काम भइरहेको उनले जानकारी दिए।
मालढुंगाको पुलमा क्षति पुगेको ठाउँमा बेलीब्रिज राख्ने वा अन्य प्रविधिबाट पुनर्निर्माण गर्ने भन्ने विषयमा भने टुङ्गो लागिसकेको छैन।
‘सम्बन्धित क्षेत्रका इन्जिनियर र प्राविधिकबाट पुलको अध्ययन तथा अवलोकन भइसकेको छ। यथाशक्य छिटो पुल सञ्चालनमा ल्याउन पहल भइरहेको छ,’ क्षेत्रीले भने।
कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मध्यपहाडी लोकमार्ग ठाउँठाउँमा अवरुद्ध भएको थियो।



