बाढीमा बाह्रबिसेका ६१ जना बेपत्ता, पीडित परिवारलाई एक लाख १५ हजार राहत

हिमाल प्रेस १६ भदौ २०८३ १६:३३ | Tuesday, September 1, 2026
बाढीमा बाह्रबिसेका ६१ जना बेपत्ता, पीडित परिवारलाई एक लाख १५ हजार राहत

सिन्धुपाल्चोक- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी बाह्रबिसे नगरपालिकाका ६१ जना नागरिक प्रभावित भएका छन्। तीमध्ये एक जनाको शव फेला परेको छ भने ६० जना अझै बेपत्ता रहेको बाह्रबिसे नगरपालिकाले जनाएको छ।

बाढीमा बेपत्ता हुनेहरू रोजगारीको सिलसिलामा रसुवा पुगेका बाह्रबिसे नगरपालिकाका नागरिक रहेको नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले बताए। उनीहरू बेपत्ता भएपछि कतिपय परिवारमा घरको मुख्य आम्दानी गर्ने व्यक्ति नभएकाले परिवारको अवस्था थप कठिन बनेको उनले बताए।

‘हाम्रा नगरका नागरिक रोजगारीको सिलसिलामा रसुवा गएका थिए। बाढीमा परी ६१ जना प्रभावित भएका छन्। एक जनाको शव भेटिएको छ भने ६० जना अझै हराइरहनुभएको छ। कतिपय परिवारमा कमाएर ल्याउने व्यक्ति नै बेपत्ता भएपछि अहिले बाह्रबिसे नगरपालिका मात्र होइन, सिंगो सिन्धुपाल्चोक नै शोकमा परेको छ’, मेयर बस्नेतले भने।

बेपत्ता तथा मृतकका परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले प्रतिपरिवार एक लाख १५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको मेयर बस्नेतले बताए। नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट उक्त रकम उपलब्ध गराइनेछ।

बाह्रबिसे नगरपालिका–३ का वडाध्यक्ष जीवन भण्डारीले विपद्मा परेका आफ्ना नागरिकका परिवारलाई तत्काल सहयोग आवश्यक भएकाले नगरपालिकाले राहत उपलब्ध गराउने निर्णय गरेको बताए।

‘हामीले आफ्ना नगरवासीलाई तत्काल केही भए पनि सहयोग गर्ने निर्णय गरेका छौँ। केन्द्र सरकारबाट आउने राहत रकम पीडित परिवारसम्म पुग्न कति समय लाग्छ भन्ने यकिन छैन। अहिले आश्रित परिवारलाई निकै गाह्रो भएको छ। त्यसलाई मध्यनजर गर्दै नगरपालिकाको विपद् कोषबाट सहयोग गर्न लागेका हौँ’, भण्डारीले भने।

नगरपालिका आफ्ना बेपत्ता नागरिकको खोज तथा उद्धारमा समेत निरन्तर खटिरहेको उनले बताए। सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी बाढी र पहिरो प्रभावित क्षेत्रमा खोजी भइरहेको भण्डारीले जानकारी दिए।
‘हामी आफ्ना नागरिकहरूको खोज तथा उद्धारमा खटिरहेका छौँ। हाम्रा धेरै नागरिक हराइरहनुभएको छ, तर अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन। आजै पनि केही फेला पर्छ कि भन्ने आशामा बाढी र पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा जुटिरहेका छौँ’, भण्डारीले थपे।

बाढीका कारण परिवारका सदस्य बेपत्ता भएपछि उनीहरूको अवस्था बुझ्न र उद्धारको पर्खाइमा रहेका परिवारलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउनु चुनौती बनेको छ। नगरपालिकाले बेपत्ता नागरिकको खोजीलाई प्राथमिकतामा राख्दै राहत वितरण र परिवारको आवश्यक सहयोगका लागि समेत काम अघि बढाएको जनाएको छ।

प्रकाशित: १६ भदौ २०८३ १६:३३ | Tuesday, September 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast