स्थलगत

भित्र विश्व कूटनीतिको बहस, बाहिर सडकको आवाज

चन्द्रशेखर अधिकारी ७ असोज २०८३ २२:३४ | Wednesday, September 23, 2026
4
SHARES
भित्र विश्व कूटनीतिको बहस, बाहिर सडकको आवाज अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको ८१औँ महासभा स्थल परिसरमा सञ्चालन गरिएको मिडिया सेन्टर। तस्बिर : हिमालप्रेस

न्युयोर्क- म्यानहटनको पूर्वपट्टि फर्स्ट एभिन्युमा प्रहरीको बाक्लो उपस्थिति छ। कतै ब्यारिकेड, कतै सुरक्षा जाँच। केहीबेर सडक खुल्छ, फेरि उच्चपदस्थ प्रतिनिधिमण्डलको मोटरकेड आउँदै गर्दा बाटो बन्द भइहाल्छ।

राष्ट्रसंघको भवनतिर जान हतारिएका पत्रकारहरू हातमा क्यामेरा, झोला र प्रेस पास बोकेर सुरक्षा घेरा छिचोलिरहेका छन्। टेलिभिजनका पत्रकारहरूले सकी–नसकी आफ्ना उपकरण बोकेका छन्।

केही पर प्रदर्शनकारीहरू आफ्ना नारासहित उभिएका छन्। प्रदर्शनकारीको झुन्डमा इरानी, युक्रेनी, पश्चिम एसियाली देशका नागरिक छन् भने कतै अन्तर्राष्ट्रिय संस्थाका अभियन्ताहरू। धर्ना र जुलुससहित उपस्थित भएका उनीहरू पोस्टर र पर्चा बाँडिरहेका छन्। कतै हस्ताक्षर अभियानसँगै सभा भइरहेका छन्।

अनि जताततै कर्कश लाग्ने प्रहरीको साइरन सुनिन्छ, मोटरकेड गुड्छ, सडक फेरि केहीबेरका लागि खाली हुन्छ। विश्वकै नेताहरू उपस्थित हुने भएपछि सुरक्षा दिनु स्वाभाविक हो। तर सुरक्षाकर्मीको व्यवहार र शैली भने विकसित देशको अपेक्षासँग मेल नखाने अनुभूति हुन्छ। लामो ड्युटी र लगातार बोलिरहनुपर्दा थकानले पनि सुरक्षाकर्मीको व्यवहार त्यस्तो भएको हुन सक्छ।

यही दृश्यबीच संयुक्त राष्ट्रसंघको भवनभित्र भने विश्वका नेता र कूटनीतिज्ञहरू ८१औँ महासभाअन्तर्गत विश्वको भविष्यबारे बहस गरिरहेका छन्। महासभाबाहिर सडकको आवाज पनि कम छैन। विगतमा पनि सडकमा बहस र छलफल जारी रहन्थ्यो। अहिले अलिक भिन्न देखिने गरी बहस भइरहेको छ। कालो सिसाभित्र हुइँकिने नेताहरूलाई त्यो जानकारी नहोला। तर जो नेता हिँडेर प्रवेश गरिरहेको छ, उसले त्यो दृश्य नियाल्दै महासभाभित्र प्रवेश गरेको हुन्छ।

महासभाको उच्चस्तरीय सप्ताह सुरु भएपछि पूर्वी म्यानहटन विश्व कूटनीतिको अस्थायी राजधानीजस्तै बनेको छ। झन्डै दुई सय मुलुकका प्रतिनिधि, राष्ट्राध्यक्ष, सरकार प्रमुख, परराष्ट्रमन्त्री र उच्च अधिकारीहरूको आवागमनले संयुक्त राष्ट्रसंघ आसपासको क्षेत्र असाधारण रूपमा व्यस्त छ।

सेप्टेम्बर २२ देखि सुरु भएको महासभाको उच्चस्तरीय बहस चार दिनमा सकिनेछ। भवनभित्र औपचारिक बैठक, द्विपक्षीय भेटवार्ता र पत्रकार सम्मेलन चलिरहेका छन्।

सुरक्षामा कडाइ

यस वर्ष न्युयोर्क प्रहरीले महासभाका लागि विशेष सुरक्षा परिचालन गरेको छ। संयुक्त राष्ट्रसंघ आसपास हजारौँ प्रहरी परिचालन गरिएको छ भने अमेरिकी गोप्य सेवा, विदेश मन्त्रालयको कूटनीतिक सुरक्षा सेवा, एफबीआई, संयुक्त राष्ट्रसंघीय प्रहरीलगायत निकायसँग समन्वय गरिएको छ।

महासभाका लागि सुरक्षा कडा हुनु अस्वाभाविक होइन। न्युयोर्क प्रहरीले स्वयं यसलाई आफ्नो सबैभन्दा जटिल सुरक्षा परिचालनमध्ये एक भनेको छ। हजारौँ प्रहरी, मोटरकेड, सुरक्षा जाँच, हवाई तथा जल सुरक्षा, बम डिस्पोजल, कुकुर टोली, ड्रोन निगरानी र प्रतिआतंकवाद एकाइसम्म परिचालन गरिएको छ।

प्रहरीका अनुसार महासभा अवधिमा विशेष सुरक्षा खतरा पहिचान नभए पनि उच्चपदस्थ विदेशी पाहुनाको उपस्थितिका कारण सुरक्षा सतर्कता उच्च राखिएको छ। तालिमप्राप्त सुरक्षा कुकुरहरूको पनि उत्तिकै प्रयोग गरिएको छ। झोलाहरू खानतलासी भइरहेको देखिन्छ।

ब्यारिकेडको एकातिर सुरक्षाकर्मी छन्, अर्कोतिर प्रदर्शनकारी। बीचमा कूटनीतिज्ञका गाडी दौडिरहेका छन्। कतिपय सडक स्थायी रूपमा बन्द छन्। प्रतिनिधिमण्डलको आवागमनसँगै अन्य सडक पनि केही समयका लागि बन्द हुने गरेका छन्।

न्युयोर्क प्रहरीले फर्स्ट एभिन्युको ४१औँदेखि ४८औँ स्ट्रिटसम्मको क्षेत्रलगायत विभिन्न सडकमा नियमित तथा ‘रोलिङ’ बन्दको व्यवस्था गरेको छ। महासभा अवधिमा सार्वजनिक यातायात प्रयोग गर्न पनि प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ। सडकको यही व्यवस्थापनले महासभाको समाचार संकलन गर्न आएका पत्रकारको कामको गति पनि प्रभावित गरेको छ।

सुरक्षा जति संवेदनशील हुन्छ, सहजीकरण पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ। विशेषगरी पत्रकारका लागि नियम स्पष्ट हुनु, सुरक्षा अधिकारीको निर्देशन मर्यादित र बुझिने भाषामा आउनु तथा आकस्मिक अवस्थालाई संवादबाट समाधान गर्ने अभ्यासचाहिँ देखिएन।

‘सुरक्षा आवश्यक छ, तर प्रेससँग संवाद पनि सहज हुनुपर्छ’

राष्ट्रसंघले मान्यताप्राप्त पत्रकारका लागि छुट्टै प्रवेश व्यवस्था गरेको छ। २१ सेप्टेम्बरदेखि फर्स्ट एभिन्यु र ४७औँ स्ट्रिटबाट पत्रकार प्रवेश गर्न सक्ने व्यवस्था छ। प्रवेशका क्रममा पत्रकार र उनीहरूका उपकरणको सुरक्षा जाँच हुन्छ।

पत्रकारलाई बिहानै आउन र सुरक्षा जाँचका लागि पर्याप्त समय छुट्याउन राष्ट्रसंघले आग्रह गरेको छ। विशेषगरी फर्स्ट एभिन्यु मोटरकेडका लागि बन्द भएको अवस्थामा प्रवेशमा ढिलाइ हुन सक्ने उसले स्पष्ट रूपमा जनाएको छ।

व्यवस्था कागजमा स्पष्ट भए पनि मैदानमा त्यसको अनुभव सबैका लागि समान छैन। महासभाको समाचार संकलन गर्न आएका केही पत्रकारको गुनासो जाँचका क्रममा हुने व्यवहार र संवादको शैलीसँग जोडिएको छ। सुरक्षा संवेदनशीलता बुझ्न सकिने भए पनि पत्रकार आफ्नो पेसागत जिम्मेवारी पूरा गर्न आएको व्यक्तिका रूपमा बुझिनुपर्ने उनीहरूको धारणा छ।

मिडिया केन्द्रमा खटिएका सञ्चारकर्मीबीच उठेको सुझाव पनि यही छ- सुरक्षा अधिकारीले नियम कार्यान्वयन गर्दा बोली र व्यवहारमा थप संयम्, स्पष्टता र सहजता अपनाइदिए हुन्थ्यो। सुरक्षा र प्रेसबीच तनाव सिर्जना गर्नेभन्दा सूचना र संवादबाट काम अघि बढाउने अभ्यासले दुवै पक्षलाई सहज बनाउने विभिन्न देशका पत्रकारहरूले बताए।

प्रवेश गर्ने क्रममा सुरक्षाकर्मीले विवाद थाल्ने र बोलीमा शिष्टता नदेखाउने हुँदा केही पत्रकार निकै कराइरहेका हुन्छन्। त्यो दृश्य सामान्य भए पनि अमेरिकाजस्तो देशले त्यसलाई गम्भीर रूपमा लिएर सुधार गर्नेमा दुईमत नभएको एक पत्रकारले सुनाए। राष्ट्रसंघको आफ्नै व्यवस्थाले पनि मान्यताप्राप्त पत्रकारलाई निश्चित क्षेत्रमा सहज पहुँच दिएको छ। सुरक्षा संवेदनशील क्षेत्रमा भने थप नियन्त्रण र सहजीकरणको व्यवस्था गरिएको छ। यसको उद्देश्य सुरक्षा कायम राख्दै समाचार संकलन व्यवस्थित बनाउनु हो।

भित्र कूटनीति, बाहिर नारा र सभा

महासभाको उच्चस्तरीय सप्ताहसँगै न्युयोर्कमा विभिन्न विषयलाई लिएर प्रदर्शन बढेका छन्। राष्ट्रसंघ वरपर देखिने प्रदर्शनहरूमा विभिन्न अन्तर्राष्ट्रिय र राजनीतिक मुद्दा उठाइएका छन्। प्रहरीका भनाइमा महासभाका बेला प्रदर्शन बढ्नु नियमित प्रवृत्ति हो। शान्तिपूर्ण रूपमा गरिने संविधानप्रदत्त प्रदर्शनलाई सहजीकरण गर्ने, तर हिंसा वा सार्वजनिक सम्पत्तिमा क्षति हुन नदिने नीति प्रहरीले स्पष्ट गरेको छ। यसै कारण राष्ट्रसंघ आसपासका सडकमा अहिले सुरक्षा र प्रदर्शन एकै दृश्यका दुई पाटा बनेका छन्।

महासभाको दृश्य सभाकक्षभित्रको भाषणबाट मात्र बुझ्न सकिँदैन। भित्र विश्वका नेता र कूटनीतिज्ञहरू युद्ध, शान्ति, जलवायु परिवर्तन, विकास, कृत्रिम बौद्धिकता र विश्व व्यवस्थाका विषयमा बहस गरिरहेका छन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा चलिरहेका बेला मंगलबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयबाहिर इरानी शासनविरुद्ध प्रदर्शन गर्दै प्रदर्शनकारीहरू। तस्बिर : एपी/रासस

राष्ट्रसंघको ८१औँ महासभाको मूल विषय ‘विश्वास पुनर्स्थापना, रूपान्तरण व्यवस्थापन : सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ’ रहेको छ। बाहिर भने नागरिक र विभिन्न अभियानमा संलग्न समूह आफ्ना प्रश्न लिएर सडकमा छन्।

यही अर्थमा न्युयोर्कका सडकमा देखिने प्रदर्शन महासभाको औपचारिक कार्यक्रमभन्दा बाहिरको कुरा होइन। विश्वका सरकारहरूले अन्तर्राष्ट्रिय मञ्चमा उठाएका विषयप्रति नागरिक तहमा रहेका धारणा, असन्तुष्टि र माग पनि यसै सहरका सडकमा देखिन्छन्।

सडक र भवनभित्र देखिएका दुवै दृश्यलाई जोड्ने एउटा महत्त्वपूर्ण माध्यम हो, प्रेस। पत्रकारका लागि महासभा भनेको नेताहरूको भाषण सुन्ने कार्यक्रम मात्र होइन। सडकमा भइरहेको प्रदर्शन, सुरक्षा व्यवस्था, कूटनीतिक भेटवार्ता, प्रतिनिधिमण्डलको गतिविधि र महासभाभित्रका निर्णय सबैलाई एकैपटक पछ्याउनु पनि हो। त्यसैले प्रेसको आवागमन सहज हुनु समाचारको गुणस्तरसँग पनि जोडिएको विषय हो।

हुन त कतिपयलाई सामाजिक सञ्जाल छ, सञ्चारकर्मीको कुरा किन चाहियो? मेरो पोस्ट नै धेरैले हेर्छन् भन्ने घमण्ड हुन सक्छ। समाजविज्ञान अध्ययन भएको देशमा त यस्तो देखिन्छ बेलाबेलामा। हाम्रोजस्तो समाजविज्ञानबारे खासै ज्ञान नराख्ने देशमा के कुरा गर्नु? अनि सरकारमा रहेकाहरूले गर्ने व्यवहारको पाटो भिन्न छ।

महासभा अध्यक्ष खलिलुर रहमानले आफ्नो कार्यकालमा सञ्चारमाध्यमसँग नजिकबाट काम गर्ने र नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र, नवप्रवर्तन तथा प्राज्ञिक क्षेत्रको आवाजलाई राष्ट्रसंघीय प्रक्रियासँग जोड्ने आवश्यकता औँल्याएका छन्।

उनले राष्ट्रसंघलाई ‘भविष्यका लागि सक्षम’ बनाउनुपर्ने बताएका छन्। न्युयोर्कको अहिलेको दृश्यमा त्यसको अर्को व्यावहारिक अर्थ पनि देखिन्छ- राष्ट्रसंघको ढोका विश्वका लागि खुला राख्ने हो भने त्यसको सूचना संसारसम्म पुर्‍याउने प्रेसका लागि पनि बाटो स्पष्ट र सम्भव भएसम्म सहज हुनुपर्छ।

फर्स्ट एभिन्युमा फेरि मोटरकेड गुड्छ। प्रहरीको संकेतसँगै बाटो रोकिन्छ। प्रदर्शनकारीको आवाज सुनिन्छ। पत्रकारहरू आफ्नो पास देखाउँदै अर्को प्रवेशद्वारतिर लाग्छन्। केही मिनेटपछि सडक फेरि खुल्छ।

महासभाको भवनभित्र विश्व व्यवस्था बदल्ने बहस जारी रहन्छ। बाहिर न्युयोर्कका सडकमा आफ्नै किसिमको बहस चलिरहन्छ। भित्र राष्ट्रहरूका लोकतान्त्रिक विधिबाट चुनिएका नेताहरू, शासक र सरकारी अधिकारी बोलिरहेका छन्, सडकमा नागरिक बोलिरहेका छन् र यी दुवै आवाजलाई संसारसम्म पुर्‍याउन प्रेस दौडिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast