पर्यटक आगमन बढ्यो, होटल र पर्यटन कम्पनी घाटामा

हिमाल प्रेस ९ भदौ २०८३ १५:३७ | Tuesday, August 25, 2026
पर्यटक आगमन बढ्यो, होटल र पर्यटन कम्पनी घाटामा

काठमाडौँ- नेपालमा पर्यटक आगमन बढ्दै गएर यस वर्ष कोभिडअघिको स्तरमा पुग्ने क्रममा रहे पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत होटल तथा पर्यटन क्षेत्रका कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा तीव्र वित्तीय दबाब बेहोरेका छन्।

नेप्सेमा सूचीकृत होटल तथा पर्यटन क्षेत्रका आठ कम्पनीको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार कुल आम्दानी १४.५ प्रतिशतले घटेर ६ अर्ब पाँच करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षमा यी कम्पनीले संयुक्त रूपमा सात अर्ब आठ करोड रुपैयाँ आम्दानी गरेका थिए।

आम्दानी घटेपछि यी कम्पनीले समीक्षा वर्षमा कुल २८ करोड ३१ लाख रुपैयाँ खुद घाटा बेहोरेका छन्। अघिल्लो आर्थिक वर्षमा भने उनीहरूले ९९ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएका थिए।

क्षेत्रको नाफाबाट घाटातर्फको यो ठूलो परिवर्तनमा मुख्य भूमिका तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको छ। काठमाडौँमा हायात रिजेन्सी सञ्चालन गर्ने उक्त पाँचतारे होटल गत सेप्टेम्बरमा भएको आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटबाट ठूलो क्षति भएपछि बन्द छ।

होटलको कुल आम्दानी अघिल्लो आर्थिक वर्षको एक अर्ब ७३ करोड रुपैयाँबाट घटेर समीक्षा वर्षमा ४१ करोड ६२ लाख रुपैयाँमा झरेको छ। फलस्वरूप कम्पनीले अघिल्लो आर्थिक वर्षमा ४६ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएकोमा समीक्षा वर्षमा ७० करोड ५७ लाख रुपैयाँ खुद घाटा बेहोरेको छ। होटलमा अहिले मर्मत तथा पुनःस्थापनाको काम भइरहेको छ।

काठमाडौँको चन्द्रागिरिमा केबलकार तथा लक्जरी रिसोर्ट सञ्चालन गर्ने चन्द्रागिरि हिल्स लिमिटेडको आम्दानी पनि घटेको छ। कम्पनीको आम्दानी अघिल्लो आर्थिक वर्षको ७२ करोड १७ लाख रुपैयाँबाट समीक्षा वर्षमा ६२ करोड ६५ लाख रुपैयाँमा झरेको छ। गत सेप्टेम्बरको आन्दोलनका क्रममा कम्पनीको संरचनामा समेत क्षति पुगेको थियो। आवश्यक मर्मतपछि कम्पनीले पुनः सेवा सञ्चालन गरिसकेको छ।

चन्द्रागिरि हिल्सको खुद नाफा भने अघिल्लो आर्थिक वर्षको ७२ करोड १७ लाख रुपैयाँबाट घटेर आठ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ।

र्‍याडिसन काठमाडौँ होटल सञ्चालन गर्ने ओरियन्टल होटल्स लिमिटेडको आम्दानी पनि एक अर्ब आठ करोड ८६ लाख रुपैयाँबाट घटेर एक अर्ब दुई करोड ८१ लाख रुपैयाँमा झरेको छ। कम्पनीले समीक्षा वर्षमा चार करोड ७४ लाख रुपैयाँ खुद घाटा बेहोरेको छ। अघिल्लो वर्ष कम्पनी चार करोड ३७ लाख रुपैयाँ नाफामा थियो।

हायात सेन्ट्रिक सञ्चालन गर्ने सिटी होटल्स लिमिटेड र बन्दीपुर केबलकारले पनि समीक्षा वर्षमा घाटा बेहोरेका छन्। यद्यपि दुवै कम्पनीको घाटा अघिल्लो वर्षको तुलनामा घटेको छ। सिटी होटलको खुद घाटा १९ करोड ८४ लाख रुपैयाँबाट घटेर १७ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ।

बन्दीपुर केबलकारको घाटा एक करोड ७२ लाख रुपैयाँबाट घटेर एक करोड ३६ लाख रुपैयाँमा झरेको छ।

होटल फरेस्ट इनको आम्दानी भने बढेको छ। अघिल्लो आर्थिक वर्षको १३ करोड ६६ लाख रुपैयाँबाट बढेर समीक्षा वर्षमा कम्पनीको आम्दानी १९ करोड ६३ लाख रुपैयाँ पुगेको छ। तर आम्दानी बढे पनि कम्पनीको खुद घाटा २४ करोड ४५ लाख रुपैयाँ पुगेको छ।

यसबीच सोल्टी होटल लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडले भने क्षेत्रका अन्य कम्पनीको विपरीत समीक्षा वर्षमा नाफा बढाएका छन्।

सोल्टी होटलको आम्दानी दुई अर्ब ७७ करोड रुपैयाँबाट बढेर तीन अर्ब १४ करोड रुपैयाँ पुगेको छ। कम्पनीको खुद नाफा १६.५ प्रतिशतले बढेर ७६ करोड ११ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा ६५ करोड ३२ लाख रुपैयाँ थियो।

त्यस्तै, कालिञ्चोक दर्शनको खुद नाफा दोब्बरभन्दा बढीले बढेर पाँच करोड ७६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले दुई करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको आम्दानी पनि सात करोड ६३ लाख रुपैयाँबाट बढेर आठ करोड ५९ लाख रुपैयाँ पुगेको छ। कालिञ्चोक मन्दिरमा दर्शनार्थीको संख्या बढेसँगै कम्पनीको आम्दानी बढेको हो। कम्पनीले मन्दिरसम्म यात्रु पुर्‍याउन केबलकार सेवा सञ्चालन गर्दै आएको छ।

प्रकाशित: ९ भदौ २०८३ १५:३७ | Tuesday, August 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast