काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले सांसदहरूले उठाएका प्रश्नको जबाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गरेका छन्।
आजको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै सभामुख अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्मा उपस्थित भएर सांसदहरूका प्रश्नमा जबाफ दिन रुलिङ गरेका हुन्।
‘प्रतिनिधिसभा नियमावलीको नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनुभएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकै छ, यसै सन्दर्भमा प्रतिनिधि सभा बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम सदस्यहरूको प्रश्नको जबाफ दिन म प्रधानमन्त्रीलाई निर्देश गर्दछु,’ सभामुखले भने।
प्रतिनिधिसभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता संसद्मा उपस्थित भएर प्रधानमन्त्रीले सांसदहरूको प्रश्नमा जबाफ दिनुपर्ने व्यवस्था छ।
गत जेठ १७ गते बालेनले ‘म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए। त्यसपछि सांसदहरूले निरन्तर संसद् अवरोध तथा विरोध गर्दै आएका थिए।


