काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु भएको बताएका छन्।
मंगलबार काठमाडौँमा आयोजित निर्वाचन अधिकृतहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति थापाले संविधान, पार्टी विधान र अदालतको फैसलाले तोकेको सीमाभित्र रहेर छोटो समयमै महाधिवेशनका आवश्यक काम सम्पन्न गर्नुपर्ने बताए।
‘थोरै समयभित्र काम गर्नुपर्नेछ। यसबाट अधिवेशन हुँदा कुनै प्रश्न नआउने गरी काम गर्नुपर्नेछ। आजबाट औपचारिक रूपमा निर्वाचन प्रक्रिया सुरु भएको छ,’ उनले भने।
थापाले असोज १६ गतेको मिति तलमाथि नहुने गरी निर्वाचन समितिले महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने बताए। जिल्लामा खटिने निर्वाचन अधिकृतहरूले प्राध्यापक, कानुन व्यवसायी शिक्षक लगायतलाई परिचालन गरी निर्वाचन प्रक्रिया व्यवस्थित बनाउनुपर्ने उनको भनाइ थियो।
उनले पार्टीभित्र असन्तुष्ट रहेका नेताकार्यकर्तालाई समेत एकजुट बनाउने प्रयास भइरहेको बताए। ‘पार्टीमा चित्त नबुझाएका साथीहरूलाई एकजुट बनाउन म सक्रिय छु,’ उनले भने।
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार पार्टीको १५औँ महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने तय भएको छ। महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा निर्वाचन सम्पन्न गराउन तोकिएका निर्वाचन अधिकृतहरूलाई मंगलबार प्रशिक्षण दिइएको हो।


