मुख्यमन्त्री हिक्मतकुमार कार्की
इटहरी- कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तनलाई लिएर नेकपा (एमाले) भित्र देखिएको विवाद तत्कालका लागि शीर्ष नेतृत्वको तहबाट समाधान गर्ने सहमति भएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री परिवर्तन चाहेका भए पनि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संस्थागत निर्णयविना पद नछाड्ने अडान लिएपछि विवाद पेचिलो बनेको हो।
विवाद समाधानका लागि सोमबार बसेको एमाले कोशी प्रदेशका प्रदेशसभा सदस्यहरूको बैठकमा पार्टी सचिव तथा प्रदेश इन्चार्ज शेरधन राईले विषयलाई शीर्ष नेतृत्वसँगको छलफलबाट टुंग्याइने बताएका छन्।
बैठकमा मुख्यमन्त्री कार्कीसहित एमाले कोशी अध्यक्ष घनश्याम खतिवडा, संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो, प्रमुख सचेतक रमेश बस्नेतसहित २५ जना प्रदेशसभा सदस्य सहभागी थिए।
बैठकमा सहभागी एक प्रदेशसभा सदस्यका अनुसार इन्चार्ज राईले पार्टीभित्रको विवाद पार्टीभित्रै समाधान गर्नुपर्ने प्रस्ताव राखेका थिए।
एमाले स्रोतका अनुसार पार्टी अध्यक्ष ओलीले कोशीको मुख्यमन्त्रीमा उपनेता मेन्याङ्बोलाई अघि सार्ने इच्छा व्यक्त गरेका छन्। तर मुख्यमन्त्री कार्कीले आफूलाई पार्टीको औपचारिक निर्णय प्राप्त नभएको र संस्थागत प्रक्रिया पूरा नभएसम्म राजीनामा नदिने स्पष्ट अडान लिएका छन्।
कार्कीले पद नछाड्ने अडान लिएपछि संसदीय दलको नेता परिवर्तन गर्ने विकल्पसमेत छलफलमा आएको थियो। तर त्यसमा पनि संवैधानिक र राजनीतिक जटिलता देखिएपछि शीर्ष नेताहरूकै तहबाट निकास खोज्ने सहमति भएको एमाले स्रोतले जनाएको छ।
प्रदेशसभा सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले शीर्ष नेतृत्वले समाधान खोज्ने बताएपछि बैठकमा अन्य सदस्यले धारणा नराखेको बताए।
मुख्यमन्त्री कार्की मंगलबार शीर्ष नेताहरूसँग छलफलका लागि काठमाडौँ जाने तयारीमा छन्। इन्चार्ज राईले अध्यक्षको निर्देशन कार्यान्वयनमा केही संवैधानिक जटिलता देखिएकाले एकदेखि डेढ साताभित्र समस्याको समाधान निकालिने बताएका छन्।
बैठकपछि मुख्यमन्त्री कार्कीले पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने सहमति भएको र सरकार तथा पार्टी सञ्चालनमा देखिएका विषयहरू शीर्ष नेतृत्वको निर्णयअनुसार अघि बढ्ने प्रतिक्रिया दिएका छन्।


