काठमाडौँ- बाढीका कारण पीडित बनेकालाई राहतस्वरूप नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। नाडाले प्राकृतिक विपद्का कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।
‘यस राष्ट्रिय विपद्को घडीमा नाडा सदैब राज्यको साथमा उभिने छ । उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यलाई प्रभावकारी बनाउन राज्यसँगै काँधमा काँध मिलाएर उभिनु सम्पूर्ण नागरिकको कर्तव्य हो भन्नेमा हामी दृढतापूर्वक विश्वास गर्छौं । नाडा सधैं सरकारको पक्षमा, सरकारसँगै उभिने संस्था रहिआएको छ, र यस विपद्मा पनि त्यही प्रतिबद्धता दोहोर्याउँदछ । त्यसैले नेपालका सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूलाई एकबद्ध भई सहकार्य गर्दै उद्धार र राहतमा सहयोग पुर्याउन हार्दिक आह्वान गर्दछौं ।’ नाडाले भनेको छ।
‘गृहमन्त्रीज्यूको यही आह्वानअनुरूप नाडा आफ्नो तर्फबाट सहयोग गर्न सधैं तत्पर रहनेछ । नाडा देशको आर्थिक संरचनालाई सशक्त बनाउन र त्यसको निरन्तरतामा विश्वास राख्दछ, र यो विश्वासअनुरूप मुलुक र यहाँका नागरिकको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछ ।’ नाडाले भनेको छ।


