प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरूको माग

हिमाल प्रेस २६ साउन २०८३ १४:५९ | Tuesday, August 11, 2026
10
SHARES
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरूको माग

काठमाडौँ- सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्ति सच्याएर संसद्को अभिलेखबाट हटाउन माग गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुखले दलीय आधारमा धारणा राख्न समय दिएका थिए।

सांसदहरूले गत जेठ १७ गते प्रधानमन्त्रीले संसद्‌मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे हालसम्म जबाफ नआएको भन्दै उक्त अभिव्यक्ति फिर्ता लिन माग गरे।

नेपाली कांग्रेसका सांसद भरतकुमार स्वारले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति सच्याउनुपर्ने भन्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन सभामुखको ध्यानाकर्षण गराए।

एमाले सांसद चन्देश्वर मण्डलले सुनसरी र सिरहामा भएका घटनामा गोली चलाउनुपर्ने अवस्था नरहेको भन्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरे।

उनले महँगी, कृत्रिम अभाव, सुकुम्बासी समस्या, राहदानी तथा विद्युत् शुल्कलगायत विषयमा सरकारले प्रभावकारी समाधान दिनुपर्ने बताए।

राप्रपा सांसद भरत गिरीले लिपुलेक तथा सीमा विवादबारे सरकारको धारणा सदनमा प्रस्तुत गर्न माग गरे।

नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन माग गर्दै प्रधानमन्त्रीले संसद्को गरिमा र सांसदहरूको मागलाई बेवास्ता गरेको आरोप लगाए।

श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राईले प्रधानमन्त्रीले नैतिक तथा पदीय जिम्मेवारी बहन गर्दै सदनमा उपस्थित भएर जबाफ दिनुपर्ने बताए।

यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले राईले प्रयोग गरेको ‘कोर्रा’ शब्दप्रति आपत्ति जनाउँदै उक्त शब्द संसद्को अभिलेखबाट हटाउन माग गरिन्।

प्रकाशित: २६ साउन २०८३ १४:५९ | Tuesday, August 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast