अदालतको ढोका कुरेर बस्ने होइन, कांग्रेस विवाद राजनीतिक संवादबाटै समाधान गरौँ :  महामन्त्री पौडेल

हिमाल प्रेस ५ भदौ २०८३ १४:१२ | Friday, August 21, 2026
अदालतको ढोका कुरेर बस्ने होइन, कांग्रेस विवाद राजनीतिक संवादबाटै समाधान गरौँ :  महामन्त्री पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र देखिएको विवाद समाधानका लागि अदालतको फैसला कुरेर बस्नुभन्दा राजनीतिक संवाद र सहमतिमार्फत अघि बढ्नुपर्ने बताएका छन्।

पौडेलले शुक्रबार जारी गरेको अपिलमा कांग्रेसभित्रका विमतिलाई सडक वा अदालतमा लैजाने समय नभएको उल्लेख गर्दै असन्तुष्ट नेता तथा कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय सानेपामा आएर संवाद गर्न आग्रह गरेका छन्।

‘हाम्रो घरभित्रका विमतिहरूलाई सडकमा लैजाने वा अदालतको ढोका कुरेर बस्ने समय यो होइन,’ पौडेलले भनेका छन्, ‘नेपाली कांग्रेसको विवाद अदालतले निरुपण गर्ने विषय होइन र हुनुहुँदैन। राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ।’

उनले पार्टीभित्रको विवादलाई कानुनी प्रक्रियाबाट भन्दा आपसी संवादबाट टुंग्याउनुपर्नेमा जोड दिएका छन्। फरक मत राख्ने नेताकार्यकर्ता र शुभेच्छुकलाई आफ्नो विचारसहित सानेपा आउन आग्रह गर्दै उनले पार्टीको साझा थलोमै बसेर मनैदेखि संवाद गर्नुपर्ने बताएका छन्।

पौडेलले विगतका कमजोरीमा कुनै एक पक्षलाई मात्र दोषी देखाउनुभन्दा त्यसमा सबैको सामूहिक जिम्मेवारी स्वीकार गर्नुपर्ने बताएका छन्। पार्टीभित्रको असन्तुष्टि र बेमेललाई लम्ब्याउँदै जाँदा त्यसले कांग्रेस मात्र नभई मुलुकको लोकतान्त्रिक प्रणालीलाई समेत कमजोर बनाउन सक्ने उनको चेतावनी छ।

उनले आगामी १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गरी कार्यकर्ताले सुम्पिने नेतृत्वलाई स्वीकार गर्नुपर्ने बताएका छन्। त्यसका लागि अहिलेका सबै मतभेदलाई थाती राखेर पार्टीको मूल प्रवाहमा गोलबद्ध हुनुपर्ने उनको आग्रह छ।

मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै पौडेलले कांग्रेसले अहिले एकता र अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। ‘हामी झगडिया वा रमिते भएर बस्दा देशले सही नेतृत्व पाउँदैन,’ उनले भनेका छन्।

वर्तमान सरकारका गतिविधिमाथि आवश्यक खबरदारी गर्न नसकिए मुलुकलाई अनिश्चिततातर्फ लैजाने जोखिम रहेको उल्लेख गर्दै पौडेलले कांग्रेसलाई थप सशक्त बनाउन सबै नेता तथा कार्यकर्ताको एकता र सक्रियता अपरिहार्य रहेको बताएका छन्।

प्रकाशित: ५ भदौ २०८३ १४:१२ | Friday, August 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast