ललितपुर शिक्षक महासंघमा विवाद, भागबन्डा नमिलेपछि नेकपा निकट शिक्षकले च्याते माइन्युट

हिमाल प्रेस १७ साउन २०८३ १६:११ | Sunday, August 2, 2026
194
SHARES
ललितपुर शिक्षक महासंघमा विवाद, भागबन्डा नमिलेपछि नेकपा निकट शिक्षकले च्याते माइन्युट

काठमाडौँ- ललितपुरमा नेपाल शिक्षक महासंघ गठनको विषयलाई लिएर आबद्ध शिक्षक संगठनबीच विवाद चुलिएको छ। महासंघ गठन प्रक्रियामा सहमति जुट्न नसकेपछि एक पक्षले वार्ताको माइन्युट च्यातेर हिँडेको छ भने अर्को पक्षले दुई संगठनले एकलौटी रूपमा महासंघ गठन गरेको भन्दै त्यसको वैधानिकतामाथि प्रश्न उठाएको छ।

नेपाल शिक्षक संघ, ललितपुरका जिल्ला अध्यक्ष सुरेश घिमिरेले महासंघ गठनअघि सबै आबद्ध संगठनबीच पटकपटक छलफल भएको बताए।  उनका अनुसार महासंघ गठनका लागि नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संगठन, संस्थागत विद्यालय शिक्षक युनियन, नेपाल विद्यालय कर्मचारी परिषद् लगायतका घटक संस्थाबीच १० पटकसम्म बैठक बसेको थियो।

शिक्षक महासंघ शिक्षा ऐन र नियमावलीले मान्यता दिएको आधिकारिक छाता संगठन भएकाले सबैलाई समेटेर अघि बढ्ने प्रयास गरिएको घिमिरेले बताए। आइतबार हिमालप्रेससँग कुरा गर्दै उनले भने, ‘नेपाल शिक्षक महासंघको विधानअनुसार सबैभन्दा धेरै सदस्य भएको संगठनले अध्यक्ष, दोस्रोले सचिव र तेस्रोले सहअध्यक्ष लिने व्यवस्था छ। त्यही आधारमा नेपाल राष्ट्रिय शिक्षक संगठनलाई जिल्ला अध्यक्ष, नेपाल शिक्षक संगठनलाई दुई गाउँपालिका अध्यक्ष र सातमध्ये तीन सचिव दिने प्रस्ताव गरेका थियौँ।’

उनका अनुसार नेपाल शिक्षक संगठनले त्यतिले नपुग्ने भन्दै थप नगरपालिका नेतृत्वको माग गरेपछि सहमति जुट्न सकेन। ‘उहाँहरूले नगरपालिका पनि चाहिन्छ भनेर अडान लिनुभयो। हामीले योभन्दा बढी सम्झौता गर्न सक्दैनौँ भनेपछि वार्तामा आउनुभएका साथीहरूले माइन्युट च्यातेर हिँड्नुभयो। त्यसपछि बाँकी रहेका घटकहरू मिलेर ललितपुरमा शिक्षक महासंघ गठन गरेका हौँ,’ घिमिरेले भने।

राष्ट्रिय परिषद्‌मा प्रतिनिधित्वको विषयमा घिमिरेले महासंघमा सहभागी नभएको संगठनलाई छुट्टै खोजेर बोलाउने अवस्था नरहेको बताए। ‘जिल्लाबाट चार जना पठाउने राष्ट्रिय समितिको पत्र थियो। महासंघमै नरहेको संगठनलाई खोजेर लैजाने कुरा भएन नि’, उनले भने।

नेपाल शिक्षक संगठन, ललितपुरका सह-इन्चार्ज गोविन्द चिलवालले भने सबैलाई समेटेर महासंघ गठन गर्ने सहमति भएको दाबी गरेका छन्। उनका अनुसार संगठनले नेपाल राष्ट्रिय शिक्षक संगठनलाई जिल्ला नेतृत्व, नेपाल शिक्षक संघलाई एउटा महानगर र आफूहरूलाई अर्को महानगर तथा एउटा गाउँपालिकाको नेतृत्व दिन प्रस्ताव गरेको थियो।

‘हामीले एउटा महानगर हामीलाई र अर्को उहाँहरूलाई, एउटा गाउँपालिका हामीलाई दिनुस् भनेका थियौँ तर उहाँहरूले नगरपालिका दिन सकिँदैन, गाउँपालिकामै बस्नुस् भन्नुभयो। त्यसपछि सहमति हुन सकेन,’ चिलवालले भने।

नेपाल शिक्षक महासंघ ललितपुरको नयाँ पदाधिकारी

नेपाल शिक्षक संघ र नेपाल राष्ट्रिय शिक्षक संगठनले मात्रै मिलेर महासंघ घोषणा गरेको आरोप उनको छ। संघ नेपाली कांग्रेस र राष्ट्रिय शिक्षक संगठन एमाले निकट मानिन्छ।यसैगरी नेपाल शिक्षक संगठन नेकपा निकट मानिन्छ।

‘हामीले यस विषयमा नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको ध्यानाकर्षण गराएका छौँ। परिषद् अगावै हतारमा महासंघ गठन गरिएको हो। महासंघको कार्यक्रममा पनि हामीलाई बोलाइएन’, उनले भने।

नेपाल शिक्षक संगठन, ललितपुरले विज्ञप्ति जारी गर्दै १६ वटा आबद्ध संस्था रहेको अवस्थामा दुई संगठनको सहभागितामा महासंघ गठन गरिएको भन्दै आपत्ति जनाएको छ।

‘नेपाल शिक्षक महासंघ जस्तो साझा छाता संगठनको गठन गर्दा विधान, कानुनी व्यवस्था, लोकतान्त्रिक मूल्यमान्यता र सबै आबद्ध संस्थाको सम्मानजनक सहभागिता सुनिश्चित हुनुपर्छ। सीमित संगठनको संलग्नतामा गरिएको गठन प्रक्रिया समावेशी, वैधानिक र लोकतान्त्रिक अभ्यासको भावना विपरीत देखिएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

संगठनले यस्तो प्रक्रियाले महासंघको साझा चरित्र, विश्वसनीयता र शिक्षक समुदायबीचको एकतामा नकारात्मक असर पर्ने दाबी गर्दै गठन प्रक्रिया पुनः विधानसम्मत, पारदर्शी र सबै १६ वटा आबद्ध संस्थाको अर्थपूर्ण सहभागितासहित अघि बढाउन आग्रह गरेको छ। अन्यथा आवश्यक वैधानिक तथा संगठनात्मक पहल गर्ने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ।‍

प्रकाशित: १७ साउन २०८३ १६:११ | Sunday, August 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast