काठमाडौँ- नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बन्दै गएको भन्दै अनावश्यक रूपमा ग्यास सिलिन्डर सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेको छ।
काठमाडौँ उपत्यकाको औसत मागभन्दा बढी सिलिन्डर आपूर्ति भइरहेको जनाउँदै निगमले केही दिनमै ग्यासको अवस्था सामान्य हुने जनाएको छ।
निगमका निर्देशक विनितमणि उपाध्यायले काठमाडौँ उपत्यकामा प्रतिदिन औसत ३५ देखि ३७ हजार सिलिन्डरको माग रहे पनि अहिले पाँच हजारदेखि आठ हजार सिलिन्डर बढी आपूर्ति भइरहेको बताए।
निगमका अनुसार भदौ २ गते मात्रै काठमाडौँ उपत्यकाका २२ ग्यास उद्योगले ४७ हजार ३८८ थान सिलिन्डर बिक्री गर्दैछन्।
त्यस्तै, भदौ १ गते ५२ हजार ५७६ थान सिलिन्डर बिक्री भएको थियो। यो दैनिक औसत मागभन्दा करिब १५ हजार बढी हो।
निगमले पछिल्लो एक सातामा अर्थात् साउन २७ गतेदेखि भदौ २ गते साँझसम्म तीन लाख नौ हजार ५५३ वटा सिलिन्डर बिक्री भएको जनाएको छ।
उद्योगी व्यवसायीका अनुसार अहिले आपूर्तिका कारण ग्यासको समस्या भएको होइन। गत फागुनमा बाह्य कारणले ग्यास आयातमा कमी आएपछि समस्या समाधानका लागि सरकारले आधा भरिएको सिलिन्डर बिक्री सुरु गरेको थियो। त्यसको प्रभाव अहिले देखिएको उनीहरूको भनाइ छ।
एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले सोमबारदेखि डिलरमार्फत नै ग्यास बिक्री हुन थालेपछि अवस्था सहज भएको बताए। उनले अबको एक सातामा सबै समस्या समाधान हुने देखिएको बताए।


