अराजकतावादको जगमा खडा शक्तिले देशका मूल समस्या समाधान गर्न सक्दैन : पोखरेल

हिमाल प्रेस २३ साउन २०८३ १७:३२ | Saturday, August 8, 2026
4
SHARES
अराजकतावादको जगमा खडा शक्तिले देशका मूल समस्या समाधान गर्न सक्दैन : पोखरेल

काठमाडौँ- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको जगमा खडा भएका शक्तिहरुले देशका मूल समस्या समाधान गर्न नसक्ने बताएका छन्।

एमाले तारकेश्वर नगर कमिटीले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले नेपाली राजनीतिमा लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको जगमा खडा भएको वैकल्पिक शक्तिले देशका समस्याहरूलाई सम्बोधन र समाधान गर्न नसक्ने बताए।

उनले लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको जगमा जनादेशका माध्यमबाट राष्ट्रको नेतृत्वमा स्थापित शक्तिका कारण मुलुकको सार्वभौमसत्ता नै समाप्त हुने चूनौती समेत देखिएको उल्लेख गरे।

महासचिव पोखरेलले नयाँ वैकल्पिक शक्तिमा व्यवस्थित सोच, विचार, योजना र चिन्ता नदेखिएकाले उनीहरु नेपाली राजनीतिमा लामो समय नटिक्ने दाबी गरे। यस्तो अवस्थामा असन्तुष्ट मतदातालाई स्वतः पुरानै पार्टीमा फर्काउनका लागि विगतका कमजोरीहरू लुकाउनुको सट्टा जनतामाझ गएर आफ्ना गल्ती–कमजोरी स्वीकार गर्ने र सच्चिने प्रतिबद्धता जनाउनुपर्ने उनले बताए।

त्यस्तै महासचिव पोखरेलले पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउन, शुद्धीकरण, सुदृढीकरण र रूपान्तरण जरुरी रहेको बताए। यसका लागि पार्टी पुनर्गठनको कार्ययोजना बनाउन गठन गरिएको कार्यदलले काम गरिरहेको उनको भनाइ छ।

उनले जनताको बहुदलीय जनवादको आधारमा आफ्ना नीतिप्रति जनतालाई विश्वास जिताउने र जनताको चाहनाको सापेक्षतामा प्रस्तुत हुनुपर्ने धारणा राखे।

प्रकाशित: २३ साउन २०८३ १७:३२ | Saturday, August 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast