बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

हिमाल प्रेस १ भदौ २०८३ १४:१३ | Monday, August 17, 2026
18
SHARES
बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। सोमबार प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले राजीनामाको घोषणा गरेका हुन्।

नेकपा एमालेले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो। त्यसपछि उनले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाइएको थियो।

प्रदेशसभामा बहुमत जुट्ने अवस्था नदेखिएपछि मुख्यमन्त्री बानियाँले विश्वासको मतको प्रक्रियामा जानुअघि नै सभालाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन्।

१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। तर नेपाली कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टी (हानेपा) का दुई गरी ३८ सांसद मात्रै बानियाँको पक्षमा देखिएका थिए।

बानियाँ ०८२ साउन २० गते बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। आफ्नै दलभित्र शक्ति प्रदर्शन गर्दै प्रदेशको छैटौँ मुख्यमन्त्री बनेका बानियाँ करिब एक वर्षमै सत्ताबाट बाहिरिने अवस्थामा पुगेका हुन्।

प्रदेशसभालाई सम्बोधन गर्दै बानियाँले आफ्नो कार्यकालमा प्रदेशवासीको हितमा विभिन्न काम गरेको दाबी गरे। अझै धेरै काम गर्न बाँकी रहे पनि बदलिँदो राजनीतिक परिस्थितिका कारण राजीनामा दिनुपरेको उनले बताए।

‘हामीले जुन उद्देश्यका लागि संवैधानिक तथा संसदीय व्यवस्था अपनायौँ, त्यसअनुसारको अभ्यास र संसदीय मर्यादा कायम गर्नुपर्ने विषयमा अझै केही कुरा व्यवस्थित गर्न बाँकी रहे,’ उनले भने।

एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको बानियाँ सरकारलाई कांग्रेस र हानेपाका ३८ सांसदको मात्र समर्थन कायम रहेकाले उनले विश्वासको मत पाउने सम्भावना थिएन।

प्रकाशित: १ भदौ २०८३ १४:१३ | Monday, August 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast