काठमाडौँ- प्रतिपक्षी दल नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले सभामुख डोलप्रसाद अर्याल र संसद्को अपहेलना गरेको भन्दै भएको विवादले बुधबार संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
एमाले सांसद राईले ‘तपाईंले कान सुन्नु हुन्छ कि हुन्न’ भनेर प्रश्न सोधेका थिए। त्यसपछि सभामुख अर्यालले सभामुख र सभाको अपहेलना भएको भन्दै राईलाई बोल्न समय दिएनन्।
एमाले सांसद राई उठिरहे। सभामुखले अर्का सांसद परशुराम तामाङलाई बोल्न समय दिएका थिए। तीन पटक बोलाउँदा पनि सांसद तामाङ बोल्न उठेका थिएनन्। यसबीच सभामुखले रास्वपा सांसद टीका संग्रौला (ज्वाला) लाई बोल्न दिएको भन्दै एमालेका सांसदहरू उठेर विरोध गरेका थिए।
संग्रौलाले राईको भनाइमा नियमापत्ति जनाइनन्। प्रतिनिधिसभा नियमावलीको नियम २१ को ‘ख’ को व्यवस्था स्मरण गराउँदै उनले भनिन्, ‘सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने स्पष्ट कानुनी व्यवस्था छ। तर, यहाँ जुरुक्क उठेर सभामुखले कान सुन्नुहुन्छ कि हुँदैन भन्दै प्रश्न गरिन्छ, यो कस्तो नियत हो?’
सभामुख अर्यालले एमाले सांसद राईप्रति लक्ष्य गर्दै सांसदले बोल्ने क्रममा ‘जुन भाषा प्रयोग गर्दै हुनुहुन्छ यस विषयमा ध्यानाकर्षण भएको’ बताएका थिए।




