पार्टीभित्र मभन्दा अघिल्ला दुई पुस्ता र पछिल्ला दुई पुस्ता सक्रिय छ : गगन थापा

हिमाल प्रेस ३ साउन २०८३ ११:३३ | Sunday, July 19, 2026
4
SHARES
पार्टीभित्र मभन्दा अघिल्ला दुई पुस्ता र पछिल्ला दुई पुस्ता सक्रिय छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेश सभालाई प्रतिपक्षविहीन नबनाइने बताएका छन्। उनले प्रदेशमा तीन दल मिलेर सरकार गठन गर्न नहुने तर्क गरेका हुन्।

आइतबार ललितपुरमा सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४ औँ वीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीमा नयाँ पुस्ताको आगमन र उनीहरूको अर्थपूर्ण सहभागिता अपरिहार्य रहेकोमा जोड दिए।

पार्टीभित्र आफूभन्दा अघिल्ला दुई पुस्ता र पछिल्ला दुई पुस्ता सक्रिय रहेको उल्लेख गर्दै थापाले कांग्रेसले विगतमा सबै जातजाति र भाषाभाषीलाई जोड्ने शक्तिको रूपमा काम गरेझैँ अब सबै पुस्तालाई जोड्ने सामर्थ्य पनि राख्नुपर्ने बताए।

‘तीन दल मिलेर सरकार बनाउँदा प्रदेशसभा प्रतिपक्षविहीन हुन्छ,’ उनले भने, ‘त्यो जनताको म्यान्डेटविपरीत हुन्छ, यस्तो प्रस्तावलाई कांग्रेसले ठाडै अस्वीकार गर्छ।’ उनले सत्ताका लागि अब सिद्धान्तमा कांग्रेसले सम्झौता नगर्ने दाबी गरे। ‘सत्ताका लागि अब हामी विगतका गल्ती दोहोर्‍याउँदैनौँ,’ उनले भने।

कांग्रेसले विगतमा सत्ताकै लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै थापाले अब त्यस्तो बाटोमा नहिँड्ने प्रतिबद्धता व्यक्त गरे। ‘सत्तालाई नै सबैथोक मान्ने सोचका कारण २०७२ सालयताको राजनीति अस्थिर र दिशाहीन बनेको हो,’ थापाले भने।

‘चुनावअघि एक दलसँग गठबन्धन गर्ने र चुनावपछि अर्कोसँग सरकार बनाउने प्रवृत्तिका कारण सरकार र प्रतिपक्षको भूमिका नै अन्योलपूर्ण बनेको छ,’ थापाले भने, ‘अब जनादेशको सम्मान गर्दै सिद्धान्त र लोकतान्त्रिक मूल्यका आधारमा राजनीति अघि बढ्नुपर्छ।’

 

प्रकाशित: ३ साउन २०८३ ११:३३ | Sunday, July 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast