काठमाडौँ– राजधानीका प्रमुख सञ्चारगृहको कार्यालय प्रवेशद्वारमै शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरेर पत्रकारको आवतजावतमा अवरोध पुर्याइएको घटनापछि सरकारमाथि प्रेस स्वतन्त्रतामाथि दबाब सिर्जना गर्न खोजेको आरोप लागेको छ। प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाल पत्रकार महासंघले घटनाको भर्त्सना गर्दै तत्काल छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्। उनीहरूले वालेन्द्र शाह (बालेन ) सरकारले मिडियालाई तर्साउन खोजेको आरोप लगाएका छन्।
सोमबार बिहान तिनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमा सवारीसाधन तेर्स्याइएपछि पत्रकार तथा कर्मचारीलाई कार्यालय प्रवेश गर्न कठिनाइ भएको थियो। घटनापछि केही समय ती सञ्चारगृहको नियमित कामसमेत प्रभावित भएको थियो।
नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले यो घटनालाई सञ्चारमाध्यमलाई त्रसित बनाउने नियोजित प्रयासको संज्ञा दिएका छन्। उनका अनुसार अहिलेको सरकार आलोचना सहन नसक्ने अवस्थामा पुगेको छ। त्यसैले जनतालाई भयभीयत बनाउन यस्तो कार्य गर्न सरकार सक्रिय छ।
विगतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुख्यधारका सञ्चारमाध्यमलाई ‘१२ भाइ’ भन्दै सार्वजनिक रूपमा आलोचना गरेको र सरकारका जिम्मेवार नेताहरूले पनि सञ्चारमाध्यमलाई लक्षित गर्दै पटकपटक धम्कीपूर्ण अभिव्यक्ति दिँदै आएको स्मरण गर्दै उनले अहिलेको घटना त्यही प्रवृत्तिको निरन्तरता भएको टिप्पणी गरे।
विश्वकर्माले वालेन्द्र शाह नेतृत्वको सरकारले जनतामा आशा जगाउन नसकेको दाबी गर्दै आलोचनालाई दबाउने उद्देश्यले सञ्चारगृहअगाडि गाडी तेर्स्याएर त्रासको वातावरण सिर्जना गर्न खोजिएको आरोप लगाए।
नेकपा (एमाले) ले घटनालाई लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहारको संज्ञा दिएको छ। एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले सामाजिक सञ्जालमा सञ्चारगृह र पत्रकारलाई भयभित बनाउने तथा नियमित काममा अवरोध पुर्याउने गतिविधिको भर्त्सना गरेका छन्। उनले स्वतन्त्र रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको संरक्षण गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
नेपाल पत्रकार महासंघले पनि घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सञ्चारमाध्यमको कार्यालय गेटमै गाडी तेर्स्याएर पत्रकारको आवतजावतमा अवरोध पुर्याइएको भन्दै तत्काल अवरोध हटाई सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ।
महासंघले घटनाको तत्काल छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न आग्रह गर्दै सुरक्षा निकायसँग समन्वय भइरहेको जनाएको छ।
यो घटना मुगुका गणेश नेपालीको आत्मदाह प्रकरणपछि सरकार चर्को आलोचनामा परिरहेका बेला भएको हो। पार्किङसम्बन्धी विवादबाट सुरु भएको उक्त घटनापछि सञ्चारमाध्यमले सरकारको आलोचनात्मक समाचारलाई प्राथमिकता दिएका थिए। सञ्चारगृहअगाडि गाडी राखिएको विषयमा रास्वपाका केही नेताले सामाजिक सञ्जालमार्फत ‘पार्किङको समस्या कस्तो हुन्छ भन्ने देखाउन’ यस्तो गरिएको आशयको अभिव्यक्ति दिएको भन्दै त्यसले घटनालाई झन् विवादित बनाएको छ।
नेपालको लोकतान्त्रिक इतिहासमा सञ्चारमाध्यममाथि विभिन्न समयमा राजनीतिक र प्रशासनिक दबाबका प्रयास भएका भए पनि प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने प्रयास अन्ततः असफल हुँदै आएको छ। पछिल्लो घटनाले पनि सरकार आलोचनात्मक समाचारप्रति असहज बन्दै गएको हो कि भन्ने प्रश्न उठाएको छ। सञ्चारगृहको प्रवेशद्वारमै अवरोध सिर्जना भएको घटनापछि सरकार प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको अधिकारमाथि संवेदनशील नदेखिएको भनेर आलोचना भइरहेको छ।



