धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै

हिमाल प्रेस २४ असार २०८३ १५:५६ | Wednesday, July 8, 2026
4
SHARES
धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै

जनकपुरधाम- धनुषा र सिरहालाई जोड्ने कमला नदीमा निर्माण गरिएको देशकै दोस्रो लामो झोलुङ्गे पुल सञ्चालनमा आएपछि यो क्षेत्र पर्यटक गन्तव्यस्थलका रूपमा विकास र विस्तार भएको छ।

पुल निर्माणपछि पछिल्लो समय दुवै जिल्लाका स्थानीयलाई एक अर्को जिल्लामा आवतजावत गर्न समेत सहज भएको छ।

कमला नदीमाथिको झोलुङ्गे पुलबाट त्यस वरपरको मनमोहक दृश्यावलोकन गर्नेको पछिल्ला दिनमा भीड नै लाग्न थालेको छ। पुलबाट वरपरको दृश्य समेट्नेगरी टिकटक बनाउन र फोटो खिच्न तँछाडमछाड गरेको देखिन्छ।

करिब एक हजार ५४४ मिटर लामो उक्त झोलुङ्गे पुलले धनुषाको जनकनन्दिनी गाउँपालिका–४ कठाल र सिरहाको सिरहा नगरपालिका–१३ मल्हनियालाई जोडेको छ।

पुल निर्माणसँगै वर्षौँदेखि डुङ्गा तथा वैकल्पिक जोखिमपूर्ण माध्यम प्रयोग गरेर नदी वारपार गर्नुपर्ने स्थानीयको बाध्यता अन्त्य भएको धनुषाको जनकनन्दनी गाउँपालिका–३ का सन्दीप साहले बताए।

संघीय सरकारको २८ करोडको लागतमा यो पुल निर्माण भएको थियो।

निर्माण सम्पन्न भएर २०८० साल माघबाट पुल सञ्चालनमा आएपछि विद्यालय, स्वास्थ्य संस्था, सरकारी कार्यालय तथा बजारसम्म पुग्न लाग्ने समय उल्लेख्य रूपमा घटेको छ।

अहिले दैनिक ठूलो संख्यामा नागरिकले त्यस पुलमार्फत सहज रूपमा आवतजावत गरिरहेका छन्। पुल निर्माणपछि दुई जिल्लाबीचको सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई थप मजबुत बनाएको जनकनन्दनी गाउँपालिका–३ कै रोशन यादवको विश्वास छ।

पुल निर्माणपछि छिमेकी मुलुक भारतको बिहारबाट आउने पर्यटकलाई समेत सहज पहुँच भएको छ। नजिकका धार्मिक तथा पर्यटकीय क्षेत्र घुम्न आउने भारतीय पर्यटकको संख्या बढ्न थालेपछि स्थानीय होटल, रेष्टुरेन्ट, पसल तथा साना व्यवसायी उत्साहित भएको स्थानीय मोहम्मद इमामुलको भनाइ छ।

हुलाकी सडकखण्डअन्तर्गत कमला खोलामा नवनिर्मित पुल भत्किएपछि झोलुङ्गे पुल कमलानदी वारपार गर्नेको संख्या पछिल्लो समय बढेको छ।

‘पहिले नदी तर्न डुङ्गामा निर्भर रहनुपर्ने अवस्था रहेकाले वर्षायाममा आवतजावत निकै कठिन हुने गरेको थियो,’ इमामुलले भने, ‘अहिले पुल सञ्चालनमा आएपछि वर्षभरि सुरक्षित र सहज रूपमा आवतजावत गर्न सहज भएको छ।’

स्थानीय किसानले उत्पादन गरेका कृषि उपज, दुग्धजन्य वस्तु तथा अन्य सामग्री बजारसम्म पु¥याउनसमेत सहज भएको छ।

यातायात खर्च र समय दुवै घटेकाले कृषक तथा साना उद्यमी प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। पुल आसपासका क्षेत्रमा चिया पसल, होटल, किराना, फलफूल तथा अन्य साना व्यवसाय विस्तार हुन थालेका छन्।

स्थानीयले पर्यटन र व्यापारसँग सम्बन्धित नयाँ व्यवसाय सञ्चालन गरेकाले रोजगारी सृजना र स्थानीय अर्थतन्त्रसमेत चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कमला नगरपालिका–६ का मनोज यादव उक्त पुललाई केवल आवतजावतमा मात्र सीमित नगराई दुई जिल्लाको विकास, सामाजिक एकता र आर्थिक समृद्धिको आधारका रूपमा लिइनुपर्ने बताउँछन्।

उनका अनुसार पुलबाट शिक्षा, स्वास्थ्य, कृषि, व्यापार र पर्यटनका क्षेत्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्नेछ।

जनकनन्दी गाउँपालिकाका अध्यक्ष विपिनदेव यादवले उक्त झोलुङ्गे पुलको अधिकतम उपयोग गर्दै आसपासका क्षेत्रमा सडक, बजार, पर्यटकीय पूर्वाधार तथा अन्य सेवा विस्तारका कार्यक्रम अघि बढाइने बताए।-रासस

प्रकाशित: २४ असार २०८३ १५:५६ | Wednesday, July 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast