कर्णाली नदीमा भएको दुर्घटनाबारे रमेश प्रसाईंले मागे गृहमन्त्रीको जवाफ

हिमाल प्रेस २२ असार २०८३ १४:१५ | Monday, July 6, 2026
8
SHARES
कर्णाली नदीमा भएको दुर्घटनाबारे रमेश प्रसाईंले मागे गृहमन्त्रीको जवाफ

काठमाडौँ- सत्तारुढ रास्वपाका सांसद रमेश प्रसाईंले कर्णाली राजमार्गमा बारम्बार भएका सवारी दुर्घटनाबारे गृहमन्त्रीको जवाफ मागेका छन्। सोमबारको प्रतिनिधि सभा बैठकमा उनले कर्णाली राजमार्गमा बारम्बार हुने सवारी दुर्घटनाबारे सरकारसँग जवाफ माग गरेका हुन्।

सांसद प्रसाईंले नागरिकको जीवन रक्षा गर्ने दायित्वबाट राज्य पन्छिन नपाउने बताए। कर्णाली राजमार्गमा हुने दुर्घटनाहरूलाई राज्य र समाजले केवल समाचारको विषय मात्र बनाएको भन्दै आपत्ति प्रकट गरे।

सांसद प्रसाईंले नागरिकको जीवनभन्दा ठूलो सम्पती र प्राथमिकता राज्यको अरू हुन नसक्ने उल्लेख गर्दै हालै भएको दुर्घटनामा सरकारको उद्धार संयन्त्रको प्रभावकारितामाथि प्रश्न उठाए। उद्धारका क्रममा राज्यले आफ्नो सम्पूर्ण क्षमता परिचालन गरे–नगरेको र भीरमा अड्किएका नागरिकको हारगुहारका बाबजुद उद्धारमा लापरवाही भएको विषयमा सत्यतथ्य बाहिर ल्याउन उनले माग गरे।

उनले भने, ‘कुनै पनि घटना आफ्नै घरमा घट्दा मात्र त्यसको पीडाबोध हुने र अरूको घरमा घट्दा त्यो केवल समाचार मात्र बन्ने गरेको छ। दुर्भाग्यवश समाज यति असंवेदनशील भएको छ कि कर्णालीका दुर्घटनाहरू हाम्रा लागि नियमित समाचार मात्र बन्न थालेका छन्।’

कर्णाली राजमार्गलाई सुरक्षित बनाउन र भविष्यमा यस्ता हृदयविदारक दुर्घटनाहरू दोहोरिन नदिन सरकारसँग के–कस्ता दीर्घकालीन योजनाहरू छन् भनी उनले प्रश्न गरे। नागरिकको जीवनसँग जोडिएको यस गम्भीर विषयमा सत्ता पक्ष र प्रतिपक्षभन्दा माथि उठेर सोच्नुपर्नेमा जोड दिँदै सांसद प्रसाईंले गृहमन्त्रीलाई रोष्टममा उभिएर जवाफ दिनका लागि सभामुखमार्फत तत्काल रुलिङको माग समेत गरे।

प्रकाशित: २२ असार २०८३ १४:१५ | Monday, July 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast