काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुनसरीको कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले धार्मिक यात्राका क्रममा भएको विवाद कसरी हिंसात्मक घटनामा परिणत भयो भन्ने विषयमा सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताए।
‘सुनसरीको कप्तानगन्जमा बोलबमको धार्मिक यात्राका सन्दर्भमा उत्पन्न विवाद चर्किएर दुःखद् घटनासम्म पुग्यो। यसले कतै ठूलो साम्प्रदायिक विद्वेषको रूप लिने त होइन भन्ने चिन्ता सर्वत्र व्यक्त भइरहेको छ,’उनले भने।
सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठाउँदै उनले भने,‘यो घटनाक्रममा सुरक्षा निकायको भूमिका के कस्तो रह्यो? के त्यहाँ त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो या थिएन?’


