काठमाडौँ- नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ‘वासिङ मेसिन’ को संज्ञा दिएकी छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले रास्वपामा प्रवेश गरेपछि जस्तोसुकै व्यक्ति पनि एकाएक ‘सफा’ देखिने भाष्य निर्माण गरिएको आरोप लगाइन्।
सरकारको सय दिनको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै अर्यालले रास्वपाले चुनावअघि दिएको सुशासन र योग्य व्यक्तिलाई अघि सार्ने नाराविपरीत काम गरेको दाबी गरिन्।
उनले भनिन्, ‘रास्वपाले जान्नेलाई छान्ने नारा लगाएको थियो। तर, जान्नेलाई फाल्ने, आफ्नालाई छान्ने नीतिलाई नै पुष्टि गरेको छ।’
सरकारले अघिल्ला राजनीतिक नियुक्तिहरूलाई अध्यादेशमार्फत हटाएर अहिले आफ्ना निकट व्यक्तिलाई नियुक्त गरिरहेको आरोप पनि उनले लगाइन्।
‘चुनाव हारेकालाई भटाभट नियुक्त गर्दै छ,’ उनले भनिन्, ‘सरकार सय दिनमै चुकेको छ।’
अर्यालले विगतमा आलोचित र गलत भनिएका व्यक्तिहरू रास्वपामा प्रवेश गरेलगत्तै ‘असल’ घोषित गरिन थालेको भन्दै कटाक्ष गरिन्।
उनले प्रश्न गरिन्, ‘रास्वपा वासिङ मेसिन हो? त्यहाँ पसेपछि सबै ठीक भइहाल्ने?’
सरकारले सुशासनको नारा लगाए पनि व्यवहारमा तमासा मात्रै देखाएको उनको आरोप थियो। सम्पत्ति छानबिन आयोग गठनको प्रसंग उल्लेख गर्दै उनले भनिन्, ‘आफ्नालाई छानबिनको दायरामा नराख्ने निर्णयसँगै सुशासनको तमासा र आयोग गठनको नियत प्रष्ट देखिन्छ।’
प्रतिनिधिसभाको बैठकमै विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्मा उपस्थित गराएर विवादास्पद अभिव्यक्तिबारे स्पष्टिकरण दिन सभामुख डोलप्रसाद अर्याललाई रुलिङ गर्न माग गरेका छन्।
एमालेका सांसद राजेन्द्रकुमार राईले प्रधानमन्त्रीलाई तत्काल रोस्ट्रममा उभ्याउनुपर्ने माग गर्दै भने, ‘हामीले सधैँभरि आन्दोलन गरिराख्नुपर्ने हो? कहिलेसम्म आन्दोलन गरिराख्नुपर्ने हो? प्रधानमन्त्रीलाई रोस्टममा उभ्याउनुपर्छ। प्रधानमन्त्रीलाई ल्याउन रुलिङ गर्नुपर्यो।’
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद परशुराम तामाङले पनि प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको’ भन्ने अभिव्यक्तिबारे संसद्मा आएर जवाफ दिनुपर्ने बताए।
उनले भने, ‘रास्वपाले हस्तक्षेप गर्नुपर्ने दिन आएको छ। त्यस्तै, यो संसदको गरिमा, इज्जत र सर्वोच्चतालाई गरिमामय बनाउने जिम्मेवारी सभामुखज्यूकै हो। त्यसैले रुलिङ गर्नुपर्छ।’
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याउनुपर्ने अडान दोहोर्याए। उनले भने, ‘हाम्रो आन्दोलन जारी छ। प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याउनुपर्छ। यसका लागि सभामुखज्यूले रुलिङ गर्नुस्।’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अलि भाटले पनि प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराएर आफ्नो भनाइ सच्याउनुपर्ने माग गरे।
उनले भने, ‘प्रधानमन्त्री आउन, आफ्नो कुरा सच्याउन। उहाँलाई सार्वभौम संसदमा ल्याउनुपर्यो।’
उनले प्रधानमन्त्री अनुपस्थित रहने र विपक्षीले निरन्तर विरोध गरिरहने अवस्था उचित नभएको भन्दै प्रश्न गरे, ‘यसरी त यो संसद कसरी चल्छ?’




