काठमाडौँ- सीमा विवादसम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को अभिव्यक्तिमा जवाफ माग्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा आफ्नो विरोधलाई निरन्तरता दिने भएका छन्।
कांग्रेसकी प्रमुख सचेतक बासना थापाले संसद् बैठक सुरु हुनेबित्तिकै प्रधानमन्त्रीको भनाइबारे जवाफ माग्दै विरोध जारी रहने बताइन्।
प्रधानमन्त्रीले जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको केही भूमि मिचेको हुन सक्ने अभिव्यक्ति दिएका थिए।
उक्त भनाइको तथ्य सार्वजनिक गर्न वा अभिव्यक्ति फिर्ता लिएर संसदीय अभिलेखबाट हटाउन विपक्षी दलले माग गर्दै आएका छन्।
यो विषयमा प्रधानमन्त्रीले थप स्पष्टीकरण नदिएपछि विपक्षीले लगातार ६० दिनदेखि संसद्मा विरोध गरिरहेका छन्।
यसैबीच सभामुख डोलप्रसाद अर्यालले बुधबार प्रधानमन्त्रीसँग भेट गरी समसामयिक विषयमा सदनमा उपस्थित भएर स्पष्ट धारणा राख्न सुझाव दिएका छन्।


