सुनसरी घटनामा प्रधानमन्त्रीमाथि विपक्षीको आक्रोश, संसद्‌मा जवाफदेहिताको माग (तस्बिरहरू)

हिमाल प्रेस १४ साउन २०८३ १२:०६ | Thursday, July 30, 2026
16
SHARES
सुनसरी घटनामा प्रधानमन्त्रीमाथि विपक्षीको आक्रोश, संसद्‌मा जवाफदेहिताको माग (तस्बिरहरू)

काठमाडौँ- सुनसरीको देवानगन्ज-कप्तानगन्ज क्षेत्रमा भएको हिंसात्मक घटनालाई लिएर प्रतिनिधिसभामा विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) शाह र गृहमन्त्री सुधन गुरुङको आलोचना गरेका छन्।

विपक्षी सांसदहरूले घटनापछि सरकार मौन बसेको, प्रधानमन्त्री संसद् र घटनास्थल दुवैबाट टाढा रहेको तथा सरकारले शान्तिसुरक्षा कायम गर्न प्रभावकारी पहल नगरेको आरोप लगाउँदै तत्काल जवाफदेहिता माग गरेका हुन्।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सुनसरी घटनामा एक नेपाली युवाको ज्यान गएको र दर्जनौँ घाइते भएको उल्लेख गर्दै सरकारले अहिलेसम्म स्पष्ट धारणा सार्वजनिक नगरेको बताइन्।

उनले नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा सरकार मौन रहेको भन्दै सरकारको संवेदनशीलतामाथि प्रश्न उठाइन्।

थापाले भनिन्,‘आज कप्तानगन्जमा नेपाली युवाले ज्यान गुमाएका छन्। एउटा आमाले आफ्नो कोख रित्याएकी छिन्, एउटा बाबुले आफ्नो सहारा गुमाएका छन्। तर यति ठूलो घटना भएपछि पनि सरकार मौन छ।’

उनले विगतमा यस्तै घटनामा तत्काल प्रतिक्रिया दिने प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङ अहिले मौन बसेको भन्दै त्यसले न्यायप्रतिको नागरिकको विश्वास कमजोर बनाएको दाबी गरिन्।

प्रधानमन्त्रीले काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदा प्रहरी कारबाहीका घटनाबारे सामाजिक सञ्जालमार्फत सरकारको आलोचना गरेको स्मरण गराउँदै उनले अहिले प्रधानमन्त्री बनेपछि व्यवहार परिवर्तन भएको आरोप लगाइन्।

‘एउटा नेपाली युवाको मृत्यु हुँदा त्यो संवेदनशीलता कहाँ हरायो? तपाईंले लगाएको कालो चस्माले मृत्यु र पीडाको रङ पनि फरक-फरक देखिन्छ र?’ थापाले भनिन्।

यस्तै, नेकपा एमालेकी सांसद पद्मा अर्यालले पनि सुनसरी घटनामा प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक तथा राजनीतिक जिम्मेवारी लिनुपर्ने बताइन्।

उनले विगतमा यस्तै घटनामा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्नेहरू अहिले सरकारमा रहे पनि आफूहरूले भने जवाफदेहिता नदेखाएको टिप्पणी गरिन्।

अर्यालले भनिन्, ‘काठमाडौँमा गोली चल्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्नेहरू आज सुनसरीमा गोली चल्दा र मान्छे मर्दा किन मौन छन्? अहिलेका प्रधानमन्त्री र गृहमन्त्रीले पनि नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन?’

उनले सुनसरीसहित पूर्वी जिल्लामा बढ्दो तनाव अन्त्य गर्न सरकारले प्रभावकारी योजना ल्याउन नसकेको आरोप लगाउँदै शान्ति, सद्भाव र विश्वास कायम गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्ने धारणा राखिन्।

देशमा यति ठूलो घटना भइरहँदा प्रधानमन्त्री जनतामाझ नदेखिएको भन्दै उनले सरकारको भूमिकामाथि प्रश्न उठाइन्।

‘प्रधानमन्त्री पद सिंहदरबार सजाउनका लागि होइन, संकट पर्दा जनताका बीचमा पुग्नका लागि हो,’ उनले भनिन्।

अर्यालले संवाद, विश्वास र सहकार्यबाट मात्रै यस्ता घटना समाधान हुने उल्लेख गर्दै सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताइन्।

यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्माले पनि संसदमा प्रधानमन्त्रीको खोजी गर्दै सरकारले घटनाबारे सदनलाई जानकारी गराउनुपर्ने माग गरे।

उनले सुनसरीको घटनाले देशभर चिन्ता बढाएको उल्लेख गर्दै यस्तो संवेदनशील अवस्थामा प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर वास्तविक अवस्था स्पष्ट पार्नुपर्ने बताए।

शर्माले भने,‘सुनसरीको कप्तानगन्जमा भएको घटनाले सिंगो देशलाई स्तब्ध बनाएको छ। यस्तो बेला प्रधानमन्त्री संसदमा आएर देशलाई जानकारी दिनुपर्थ्यो। तर प्रधानमन्त्री कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ भन्ने जानकारी कसैलाई छैन।’

उनले गृहमन्त्री सुधन गुरुङले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिमाथि पनि प्रश्न उठाउँदै घटनास्थलमा पुगेर राज्यको उपस्थिति देखाउनु सरकारको दायित्व भएको बताए।

सांसद शर्माले सुनसरीको देवानगन्जमा भएको घटनाको जिम्मेवारी नेपाल सरकारले नै लिनुपर्ने भन्दै प्रधानमन्त्री र गृहमन्त्रीले संसदमा उपस्थित भएर घटनाको यथार्थ विवरण सार्वजनिक गर्नुपर्ने माग गरे।

संसदमा विपक्षी दलका सांसदहरूले सुनसरी घटनापछि सरकारको भूमिका कमजोर देखिएको, शान्तिसुरक्षा कायम गर्न प्रभावकारी पहल हुन नसकेको तथा प्रधानमन्त्री र गृहमन्त्रीले तत्काल संसद र जनतासामु जवाफ दिनुपर्नेमा जोड दिएका छन्।

   

प्रकाशित: १४ साउन २०८३ १२:०६ | Thursday, July 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast