कांग्रेस इतर पक्षले राष्ट्रिय भेला बोलाउने, एकताको सम्भावना टरेको निष्कर्ष

हिमाल प्रेस ३ साउन २०८३ १८:३७ | Sunday, July 19, 2026
16
SHARES
कांग्रेस इतर पक्षले राष्ट्रिय भेला बोलाउने, एकताको सम्भावना टरेको निष्कर्ष फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको संस्थाप इतर समूहले राष्ट्रिय भेला बोलाउने घोषणा गरेको छ।

पार्टीको आन्तरिक विवाद र वर्तमान राजनीतिक अवस्थाबारे समीक्षा गर्न यो समूहले साउन महिनाभित्र काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको हो।

नियमित महाधिवेशनको पक्षमा रहेको यो समूह विशेष महाधिवेशन पक्षधरसँग एकताका लागि गरिएका प्रयासहरू सार्थक हुन नसकेको निष्कर्ष निकाल्दै नेतृत्व एकलौटी ढंगबाट अगाडि बढेको आरोप लगाएको छ।

आइतबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा निर्वतमान प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले साउन महिनाभित्र राष्ट्रिय भेला बोलाउने निर्णय भएको जानकारी दिए।

उनले साउन ६ गते बीपी स्मृति दिवसका अवसरमा आयोजना हुने कार्यक्रममार्फत राष्ट्रिय भेलाको मिति सार्वजनिक गरिने बताए।

विश्वकर्माले ‘नियमित कि विशेष महाधिवेशन’ भन्ने विवादले कांग्रेसलाई विभाजनको संघारमा पुर्‍याएको बैठकलेले निष्कर्ष निकालेको उल्लेख गरे।

इतर पक्षको बैठकले विशेष महाधिवेशनका सन्दर्भमा निर्वाचन आयोग र सर्वोच्च अदालतका निर्णयलाई ‘बदनियतपूर्ण र अन्यायपूर्ण’ ठहर गरेको छ। एकताका लागि अधिकतम प्रयास गरे पनि विशेष महाधिवेशन पक्षधर यसका लागि तयार नभएको यो समूहको निष्कर्ष छ।

संस्थापन पक्षले अनौचारिक संवादमा एकताका लागि सहमति जनाए पनि व्यवहारमा फरक ढंगले प्रस्तुत हुँदा एकता प्रक्रियामा बाधा पुगेको नेता विश्वकर्माले बताए।

इतर पक्षले एकताका लागि संस्थापनसमक्ष पाँचबुँदे प्रस्ताव अघि सारेको छ। १४ औँ महाधिवेशन र विशेष महाधिवेशनका दुवै कार्यसमितिलाई मिलाएर गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने, सभापतिको बहुमत रहने गरी कार्यसम्पदान समिति गठन गर्ने, पुनर्गठित कार्यसमितिको पहिलो बैठकबाटै १५ औँ महाधिवेशनको कार्यतालिका घोषणा गर्ने, क्रियाशील सदस्यताको विवाद समाधानका लागि यसअघि नै टुंगिएका सदस्यहरूलाई स्वतः सहभागी गराउने र अद्यावधिक प्रक्रियालाई नवीकरणको सर्त बनाउन नहुने इतर समूहले एकताका लागि सारेका प्रस्ताव हुन्।

त्यस्तै इतर समूहले बीपी स्मृति दिवस छुट्टै मनाउने निर्णय गरेको छ। नेता विश्वकर्माले साउन ६ गते बीपी स्मृति दिवस मनाउन पूर्वउपसभापति प्रकाशमान सिंहको नेतृत्वमा समिति गठन भएको जानकारी दिए।

यस अवसरमा काठमाडौँको प्रज्ञा भवनमा विशेष विचार गोष्ठी आयोजना गरिने इतर समूहले जनाएको छ। यही कार्यक्रममार्फत राष्ट्रिय भेलाको मिति सार्वजनि गर्ने तयारी इतर समूहले गरेको छ।

प्रकाशित: ३ साउन २०८३ १८:३७ | Sunday, July 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast