नेपाल केरामा आत्मनिर्भर उन्मुख, अर्को वर्षदेखि निर्यात गर्ने लक्ष्य

हिमाल प्रेस १२ साउन २०८३ १७:२६ | Tuesday, July 28, 2026
6
SHARES
नेपाल केरामा आत्मनिर्भर उन्मुख, अर्को वर्षदेखि निर्यात गर्ने लक्ष्य

काठमाडौँ- सरकारको नीतिगत सहयोग र किसानको उत्पादन वृद्धिसँगै नेपाल केरामा आत्मनिर्भर उन्मुख बनेको छ। केरा खेतीमा देखिएको टिआर-४ रोगको जोखिम नियन्त्रणका लागि अपनाइएको सावधानी र स्वदेशी उत्पादन विस्तारका कारण आयातमा निर्भरता घट्दै गएको छ।

नेपाल केरा उत्पादक महासंघका अनुसार हाल देशभर करिब १५ हजार हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ। सात हजार ६०० भन्दा बढी किसान यस व्यवसायमा आबद्ध छन्। गत वर्ष सात लाख मेट्रिकटन केरा उत्पादन भएको थियो भने वार्षिक करिब नौ लाख मेट्रिकटन केरा खपत हुने गरेको छ।

महासंघले अपुग करिब दुई लाख मेट्रिकटन केरा उत्पादन गर्ने योजनाअनुसार काम अघि बढिसकेको जनाएको छ। यससँगै बाह्रै महिना स्वदेशी उत्पादनले बजारको माग धान्ने अवस्था बन्ने विश्वास लिइएको छ।

महासंघका अध्यक्ष विष्णुहरि पन्तले केरा आयातमा गरिएको कडाइले स्वदेशी उत्पादन वृद्धि गर्न सहयोग पुगेको बताए। मूल्य नपाउँदा किसानले केरा खेती नै छाड्ने र विदेशिने अवस्था आउन सक्ने जोखिमलाई सरकारले समयमै सम्बोधन गरेको उनले बताए।

सरकारको नीतिगत सहयोग र किसानको मेहनतका कारण नेपाल अहिले केरामा आत्मनिर्भर उन्मुख बनेको उल्लेख गर्दै पन्तले अर्को वर्षदेखि निर्यातसमेत गर्न सकिने दाबी गरे। उनका अनुसार गत वर्ष देशभर ५० देखि ६० लाख नयाँ केराका बिरुवा रोपिएका छन् भने तराईसँगै पहाडी जिल्लामा पनि केराखेती विस्तार भइरहेको छ।

महास‌ंघले आउँदै गरेका दशैँ, तिहार र छठमा उपभोक्तालाई सस्तो मूल्यमा स्वदेशी केरा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

अहिले किसानले मालभोग केराको प्रतिदर्जन रु १०० देखि १२० र हरियो (जी-नाइन) केराको प्रतिदर्जन रु ५० देखि ८० सम्म मूल्य पाउने गरेको महासंघले जनाएको छ।

नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले स्थानीय उत्पादन बढेसँगै किसान उत्साहित बने पनि उपभोक्ताले अझै सस्तो मूल्यमा केरा पाउने अवस्था पूर्ण रूपमा नबनेको बताए। उत्पादनसँगै ग्रेडिङ र प्याकेजिङमा पनि ध्यान दिन सके उपभोक्ता र किसान दुवै लाभान्वित हुने उनले बताए।

प्रकाशित: १२ साउन २०८३ १७:२६ | Tuesday, July 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast