काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई लिएर देखिएको विवाद अन्त्य गर्दै सबै पक्षलाई अभियानमा सहभागी हुन आग्रह गरेका छन्।
आइतबार कांग्रेसको नयाँ क्रियाशील सदस्य अद्यावधिक कार्यक्रमअन्तर्गत युवासँग गरिएको अन्तरक्रियामा बोल्दै महामन्त्री पौडेलले विधानको परिधिभित्र रहेर सबैलाई समेट्नुपर्ने र आगामी १५ औँ महाधिवेशनलाई विधिसम्मत ढंगले सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले नेतृत्व तहलाई सम्मान गर्न आफूहरू सधैँ तयार रहेको तर विधिको दायरा र सीमालाई कसैले पनि मिच्न नहुने स्पष्ट पारे। महामन्त्री पौडेलले पार्टीभित्र रहेका संस्थापन र इतर दुवै पक्षका नेता–कार्यकर्ताले अभियानलाई सफल बनाउन सहयोग गर्नुपर्ने धारणा राखे।
पौडेलले सदस्यता अद्यावधिकलाई लिएर अनावश्यक भ्रम फैलाइएको उल्लेख गर्दै यसको उद्देश्य पुराना सदस्यलाई हटाउनु नभई उनीहरूको विवरण अद्यावधिक गरी एकीकृत अभिलेख तयार गर्नु रहेको स्पष्ट पारे।
महामन्त्री पौडेलले सरकार गठन भएको १०० दिन पुग्न लाग्दा सरकारले जनतामा विश्वास जगाउनुको साटो अनेकन् आशंका र संशयहरू मात्रै जन्माउने काम गरेको आरोप लगाए। जनताले जुन लोकतान्त्रिक र संसदीय व्यवस्थाबाट रास्वपालाई निर्वाचित गरेर पठाए, सरकारमा पुगेपछि उनीहरूले त्यही व्यवस्था र जगलाई भत्काउने गरी महाधिवेशनबाट नीति पास गरेको भन्दै आपत्ति जनाए।
महामन्त्री पौडेलले रास्वपाले संघीयता खारेज गर्ने जस्ता व्यवस्था र संविधान विरोधी निर्णहरु गरिरहेको आरोप लगाए। प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा नेतृत्वले चुनावका बेला एउटा र सत्तामा पुगेपछि अर्कै चरित्र दखाएको भन्दै उनले लोकतान्त्रिक र संसदीय व्यवस्थाकै बलमा आएर त्यही विचार र प्रणालीलाई सिध्याउने खेल खेलिएको भन्दै सरकारको १०० दिने कार्यकाल पूर्ण रूपमा संकास्पद रहेको उल्लेख गरे।




