अधिवक्ता पेसा छाडेर कृषिमा लागेका भोजपुरका जीवन थापा बने उदाहरणीय

हिमाल प्रेस २६ असार २०८३ ८:५७ | Friday, July 10, 2026
4
SHARES
अधिवक्ता पेसा छाडेर कृषिमा लागेका भोजपुरका जीवन थापा बने उदाहरणीय

भोजपुर- षडानन्द नगरपालिका-१ नेपालडाँडा थापाथलीका जीवन थापाले गाउँमा फर्फिएर करोडौँ लगानीसहित व्यावसायिक कृषि पेसाबाट आम्दानी गरेका छन्। काठमाडौँमा अधिवक्ताको पेसालाई छाडेर उनले गाउँमा ‘पद्मा, कोपिला बहुउद्देश्यीय अर्गानिक कफी उद्योग’ दर्ता गरेर कृषि उद्यम सञ्चालन गरेका छन्।

करिब सात वर्षअघि सुरु गरिएको उनको कृषि यात्रा अहिले उदाहरणीय बन्दै गएको छ। उनले करिब रु दुई करोड ५० लाख लगानी गरी ६५ रोपनी क्षेत्रफलमा बहुउद्देश्यीय खेती विस्तार गरेको बताए।

योजनाबद्ध रूपमा विविध बालीको संयोजन गर्दै उनले सात हजार बोट कफी, दुई हजार मेकाडेमिया नट, २५० बोट एभोकार्डो, ३०० बोट कागती, ५० बोट जापानिज उन्सु सुन्तला तथा १०० बोट टिमुर रोपेका छन्। यी बालीहरूबाट दीर्घकालीन आम्दानी लिन सकिने विश्वासका साथ उनले खेती विस्तार गरेको बताए।

‘गाउँमै धेरै सम्भावना रहेछ। त्यसलाई पहिचान गरेर लगानी गर्नुपर्छ भन्ने लाग्यो’, उनले भने,‘सुरुवातमा चुनौती धेरै भए पनि विस्तारै अनुभवसँगै काम अघि बढाउन सहज हुँदै गएको छ।’

कृषि उत्पादनलाई व्यवस्थित र गुणस्तरीय बनाउन उनले आफ्नै लगानीमा करिब रु १५ लाख खर्चेर चिस्यान केन्द्र निर्माण गरेका छन्। यसले उत्पादन भण्डारण र गुणस्तर जोगाउन महत्वपूर्ण भूमिका खेलेको उनले बताए।

उत्पादनलाई बजारसम्म पुर्याउन सहज होस् भनेर ढुवानीका लागि सवारी साधनको व्यवस्था पनि गरेका छन्। उनको फार्ममा हाल तीन जना कर्मचारीले नियमित रोजगारी पाइरहेका छन्, यसले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जनामासमेत योगदान पुगेको देखिन्छ।

उनले उत्पादन गरेको कफी अहिले अन्तर्राष्ट्रिय बजारसम्म पुग्न थालेको छ। यस वर्ष मात्रै उनले करिब एक हजार केजी कफी जापान निर्यात गरेका छन्, जसको मूल्य प्रतिकेजी १२ डलर रहेको छ। ‘विदेशी बजारबाट राम्रो प्रतिक्रिया पाइरहेका छौँ’, उनले भने, ‘तर उत्पादनले बजारको माग धान्न अझै कठिन भइरहेको छ।’

स्थानीय बजारमा भने उनले प्रशोधित कफी प्रतिकेजी करिब रु तीन हजारमा बिक्री गर्दै आएका छन्। कफीको माग निरन्तर बढिरहेको भए पनि उत्पादन विस्तार गर्न थप लगानी, प्राविधिक सहयोग र दक्ष जनशक्ति आवश्यक रहेको उनले अनुभव सुनाए।

कृषि क्षेत्रमा सरकारी निकायबाट प्राविधिक सहयोग र बजार व्यवस्थापनमा थप सहजीकरण आवश्यक रहेको उनको भनाइ छ। हाल उनको फार्मबाट वार्षिक पाँचदेखि सात लाख रुपैयाँसम्म आम्दानी भइरहेको छ। आगामी केही वर्षभित्र सबै बोटहरूले पूर्ण रूपमा उत्पादन दिन थालेपछि वार्षिक रु २० देखि २५ लाखसम्म आम्दानी गर्ने लक्ष्य राखेको उनले बताए।

काठमाडौँमा आफ्नै घर हुँदाहुँदै गाउँ फर्किएर कृषिमा लाग्ने निर्णयबारे उनले आत्मनिर्भरता र गाउँमै अवसर सिर्जना गर्ने उद्देश्य रहेको बताए। उनको पहलले स्थानीयस्तरमै रोजगारी सृजना गर्नुका साथै आधुनिक कृषि प्रविधि प्रयोगमार्फत उत्पादन वृद्धि गर्न प्रेरणा दिएको स्थानीयवासीले बताएका छन्। कृषिमा व्यावसायिक सोच र दीर्घकालीन योजना आवश्यक हुने सन्देश उनको अभ्यासले दिएको छ।

प्रकाशित: २६ असार २०८३ ८:५७ | Friday, July 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast