गृहमन्त्रीले इटहरीको स्यार्सेकाली पुगेर खाए भात, सुने सर्वसाधारणको गुनासो

हिमाल प्रेस २० असार २०८३ २१:०१ | Saturday, July 4, 2026
28
SHARES
गृहमन्त्रीले इटहरीको स्यार्सेकाली पुगेर खाए भात, सुने सर्वसाधारणको गुनासो

इटहरी- गृहमन्त्री सुधन गुरुङले शनिबार कोशी प्रदेशको सुरक्षा अवस्थाको स्थलगत अनुगमन गर्ने क्रममा इटहरीमा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका गुनासा सुनेका छन्।

इटहरी–१६ स्यार्सेकालीस्थित इन्दिरा स्टाफ होटलमा खाना खाने क्रममा उनले नागरिकले राखेका समस्याबारे जानकारी लिँदै सम्बन्धित प्रहरी अधिकारीलाई तत्काल आवश्यक पहल गर्न निर्देशन दिए।

शनिबार बिहान बुद्ध एयरको विमानमार्फत विराटनगर पुगेका गृहमन्त्री गुरुङले आफ्नो भ्रमण जिल्ला प्रशासन कार्यालय मोरङबाट सुरु गरेका थिए। त्यसपछि उनले विराटनगरको रानीस्थित जोगबनी सीमा नाका, विराटनगर भन्सार कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण गरे।

निरीक्षणका क्रममा उनले सुरक्षा निकायका प्रमुखहरूसँग सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण, अपराध नियन्त्रण, लागुऔषध ओसारपसार, तस्करी तथा शान्ति सुरक्षाको अवस्थाबारे विस्तृत छलफल गरेका थिए।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री गुरुङले देशभरका प्रहरी कार्यालयका जीर्ण भवन र कमजोर भौतिक पूर्वाधार सरकारको जानकारीमै रहेको बताए। बजेट अभावका कारण अपेक्षित गतिमा निर्माण हुन नसकेको स्वीकार गर्दै उनले स्रोत व्यवस्थापन गरी प्रहरीका आवश्यक भवन निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने बताए।

जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षणका क्रममा उनले हिरासत कक्ष, विभिन्न शाखा, स्टाफ ब्यारेक तथा अन्य प्रशासनिक संरचनाको अवलोकन गरे। साथै, प्रहरी कर्मचारीसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूले भोगिरहेका समस्या, सेवासुविधा र कार्य वातावरणबारे जानकारी लिए।

उनले अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न प्रहरी संगठनभित्र अनुशासन, आपसी सहयोग र नागरिकमैत्री व्यवहारलाई प्राथमिकतामा राख्न निर्देशन दिए।

इटहरीमा भातसँगै नागरिकका गुनासा

विराटनगरका कार्यक्रम सकेपछि गृहमन्त्री गुरुङ दिउँसो करिब ४ बजे इटहरी–१६ स्यार्सेकाली पुगे। उनले लामो समयदेखि आफू परिचित रहेको इन्दिरा स्टाफ होटलमा खाना खाए। उनी यसअघि धरानमा रहँदा पनि बेला–बेलामा यही होटलमा खाना खान आउने गरेको होटल सञ्चालकको भनाइ छ।

खाना खाने क्रममा होटलमा उपस्थित सर्वसाधारणले आफ्ना व्यक्तिगत तथा प्रशासनिक समस्याबारे गृहमन्त्रीसमक्ष गुनासा राखेका थिए।

त्यसक्रममा एक स्थानीयले लेनदेनसम्बन्धी विवादका क्रममा आफूमाथि छिमेकीबाट कुटपिट भएको तर इलाका प्रहरी कार्यालय पकलीले आफ्नो जाहेरी नै दर्ता गर्न नमानेको गुनासो गरेका थिए।

पीडितको कुरा सुनेपछि गृहमन्त्रीले तत्काल उपस्थित प्रहरी अधिकारीतर्फ फर्किँदै उक्त विषयमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए।

पीडितले आफू अन्यायमा परेको बताएपछि गृहमन्त्रीले सम्बन्धित प्रहरी अधिकारीलाई ‘यो मुद्दा तत्काल टुंग्याउनुस्, कानुनी प्रक्रिया अघि बढाउनुहोस्’ निर्देशन दिए।

त्यसैगरी, मिर्गौला रोगबाट पीडित एक व्यक्तिलाई घरधनीले कोठाबाट निकालिदिएको र उपचारका क्रममा अस्पतालबाट समेत समस्या भएको गुनासो राखेका थिए। गृहमन्त्री गुरुङले सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका थिए।

सुरक्षा सुधारसँगै सेवा प्रवाहमा जोड

गृहमन्त्रीको कोशी प्रदेश भ्रमणलाई सुरक्षा अवस्थाको मूल्याङ्कनसँगै सेवा प्रवाहको प्रभावकारिता बुझ्ने अवसरका रूपमा हेरिएको छ। विशेषगरी प्रहरी कार्यालयमा पुगेर कर्मचारीसँग प्रत्यक्ष संवाद गर्नु र त्यसपछि सर्वसाधारणसँग भेटघाट गरी उनीहरूका गुनासा सुन्नुलाई गृह प्रशासनले नागरिकसँग प्रत्यक्ष सम्पर्क बढाउने प्रयासका रूपमा लिएको छ।

गृहमन्त्री गुरुङले भ्रमणका क्रममा प्रहरी संगठनको मुख्य उद्देश्य नागरिकको सुरक्षा र विश्वास कायम गर्नु रहेको उल्लेख गर्दै कानुनी सेवामा ढिलासुस्ती, उजुरी दर्तामा अनावश्यक झन्झट तथा सेवाग्राहीमैत्री व्यवहारको अभावलाई सुधार गर्नुपर्नेमा जोड दिएका छन्।

विराटनगर र इटहरीका कार्यक्रम सम्पन्न गरेपछि गृहमन्त्री गुरुङ थप कार्यक्रमका लागि धरानतर्फ प्रस्थान गरेका थिए।

कोशी पुग्नेको रोजाइ स्यार्सेकाली

प्रकाशित: २० असार २०८३ २१:०१ | Saturday, July 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast