बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन सांसदहरूको माग

हिमाल प्रेस २० असार २०८३ १४:४० | Saturday, July 4, 2026
8
SHARES
बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन सांसदहरूको माग काठमाडौँ, १९ असारः काठमाडौँ, १९ असारः अध्यक्ष नारायणप्रसाद दाहाल शनिबार सङ्घीय संसद भवन सिंहदरबारमा बसेको राष्ट्रियसभा बैठक सञ्चालन गर्नुहुँदै। तस्बिरः तस्बिरः किरानराज विष्ट÷रासस

काठमाडौँ- राष्ट्रियसभाका सदस्यहरूले मनसुनका बाढीपहिरोबाट अवरुद्ध राजमार्ग र सडक यथाशीघ्र सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्।

शनिबार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै उनीहरूले मुलुकका विभिन्न राजमार्ग तथा सडक बाढीपहिरोका कारण अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको भन्दै तत्काल मर्मतसम्भार गरी यातायात सहज बनाउन सरकारसँग माग गरेका हुन्।

सांसद गोमादेवी तिमिल्सिनाले वर्षायाममा नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको उल्लेख गर्दै मुख्य राजमार्गका अवरोध तत्काल हटाउन सरकारको ध्यानाकर्षण गराइन्। उनले मुग्लिन–नारायणगढ–काठमाडौँ, डोटी र बैतडी क्षेत्रमा भइरहेका सडक दुर्घटनाप्रति सरकार गम्भीर बन्नुपर्नेमा जोड दिइन्।

सांसद दुर्गा गुरुङले मनसुन सुरु भएसँगै कर्णालीका विभिन्न जिल्लाका सडक बाढीपहिरोले अवरुद्ध हुँदा बिरामीलाई अस्पताल पु¥याउनसमेत कठिनाइ हुने गरेको बताइन्। उनले बर्सेनि दोहोरिने सडक अवरोधको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारसँग आग्रह गरिन्।

सांसद नरबहादुर विष्टले सुर्खेत–कालीकोट रुटमा सञ्चालन भइरहेको सार्वजनिक यातायात दैलेखमा हराएको घटनाको आवश्यक छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरे।

सांसद नारायणदत्त मिश्रले सरकारले रासायनिक मल डीएपी महँगो मूल्यमा खरिद गरेको हो कि? भन्ने प्रश्न उठाउँदै नेपाल र भारतबीच खरिद मूल्यमा देखिएको अन्तरबारे छानबिन हुनुपर्ने माग गरे।

सांसद युवराज शर्माले काठमाडौँ उपत्यकामा मेलम्चीको खानेपानी वितरण अवरुद्ध भएकाले नियमित खानेपानी आपूर्तिको व्यवस्था गर्न सरकार अग्रसर हुनुपर्ने धारणा राखे।

सांसद सुरेशकुमार आले मगरले सरकारले सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिएको भन्दै बैठकमा आफूले कुनै जिज्ञासा नराखेको बताए।

प्रकाशित: २० असार २०८३ १४:४० | Saturday, July 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast