काठमाडौँ- प्रतिनिधिसभाको विशेष समयमा सांसदहरूले सुनसरी घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न तथा पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
सांसद गुरुप्रसाद बरालले सुनसरी घटनाको समाधानमा सरकार प्रभावकारी हुन नसकेको टिप्पणी गर्दै धार्मिक सहिष्णुता कायम गर्न सरकारको सक्रिय भूमिका आवश्यक रहेको बताए।
सांसद युवराज दुलालले गुठी जग्गा संरक्षण र मोहियानी किसानका समस्या समाधानतर्फ सरकारको ध्यानाकर्षण गराउँदै भूमाफियाको नजरमा परेका सार्वजनिक जग्गा जोगाउन आग्रह गरे।
सांसद आरेन राईले बाँदरको आतंकका कारण किसान थप समस्यामा परेको उल्लेख गर्दै तत्काल समाधानको माग गरे।
सांसद भरत गिरीले सुनसरी घटनाको निष्पक्ष छानबिन, दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गरे।
सांसद प्रकाशचन्द्र परियारले धर्म र संस्कृतिका नाममा समाज विभाजित हुन नहुने भन्दै अफवाहको पछि नलाग्न नागरिकलाई आग्रह गरे।
सांसद चन्द्रमोहन यादवले किसानलाई समयमै मल, बीउ र सिँचाइको व्यवस्था गर्न तथा चिकित्सकलाई सुरक्षित वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद साजिका खातुका सिद्धिकी र सरस्वती लामाले सुनसरी घटनामा गोली चलेको विषयमा उच्चस्तरीय छानबिन, मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारको व्यवस्था गर्न माग गरे।
सांसद श्रीराम न्यौपानेले नागढुंगा सुरुङमार्ग निर्माणका क्रममा निधन भएका ओमप्रकाश पाण्डेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे।
सांसद प्रकाशसिंह कार्कीले यस्ता घटना दोहोरिन नदिन सरकार र सबै सरोकारवाला सचेत हुनुपर्ने बताए।
सांसद लेखजंग थापाले वीरगन्ज नारायणी अस्पतालको विवाद वार्तामार्फत समाधान भएको उल्लेख गर्दै संवादबाटै समस्या समाधान गर्नुपर्ने धारणा राखे।


