देवानगन्ज घटना साम्य पार्न पाँचबुँदे प्रतिबद्धता

हिमाल प्रेस १४ साउन २०८३ ६:२१ | Thursday, July 30, 2026
4
SHARES
देवानगन्ज घटना साम्य पार्न पाँचबुँदे प्रतिबद्धता सामाजिक सद्भाव कायम राख्न आह्वान गर्दै बुधबार बुटवलमा निकालिएको सद्भाव र्‍याली।

इटहरी- सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न परिस्थिति साम्य पार्न पाँचबुँदे प्रतिबद्धता सार्वजनिक गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा बुधबार बसेकाे सर्वपक्षीय बैठकले जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न संयुक्त प्रतिबद्धता सार्वजनिक गरेको हो।

सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले डाकेको सर्वपक्षीय बैठकले घटनामा मृत्यु भएका देवानगन्जका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। जिल्लाका स्थानीय तहका प्रमुख, संघीय सांसद, राजनीतिक दलका नेतृत्व सहभागी सर्वदलीय बैठकले जिल्लाका विभिन्न क्षेत्रमा देखिएको साम्प्रदायिक तनाव, हुलदंगा तथा अराजक गतिविधिप्रति गम्भीर दुःख व्यक्त गरेको छ।

यस्ता गतिविधि रोक्न सबै पक्षले आआफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

संकटको अवस्थामा आक्रोश, प्रतिशोध र हिंसाको बाटो नअपनाई संयम, विवेक र संवादमार्फत समस्या समाधान गर्न सबै पक्षले संयुक्त पहल गर्ने उल्लेख गरिएको छ। सर्वसाधारणलाई पनि संयमित रहन र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरिएको छ।

बैठकले सामाजिक सञ्जालमा भ्रामक, उत्तेजक तथा अराजक सामग्री नप्रकाशित गर्न, नबाँड्न र आधिकारिक सूचनामा मात्र विश्वास गर्न अपिल गरेको छ। गलत सूचना र अफवाहले समाजमा थप तनाव सिर्जना गर्न सक्ने भएकाले सबैलाई जिम्मेवार बन्न आग्रह गरिएको छ। पछिल्ला प्रदर्शनमा कलिला युवाको समेत सहभागिता देखिएकाले अभिभावकहरूलाई विशेष जिम्मेवार बन्न आग्रह गरिएको छ।

आइतबार राति द्विपक्षीय झडपपछि प्रहरीको गोली लागेर देवानगन्ज गाउँपालिका वडा नं. ४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। सो घटनामा कम्तीमा २१ जना घाइते भएका थिए। पछिल्लो समय जिल्लाका १० वटा स्थानीय तहमा कर्फ्यू कायमै रहे पनि बुधबारदेखि देवानगन्जको अवस्था शान्त रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast