सुनसरीमा सर्वपक्षीय प्रतिबद्धता : निष्पक्ष छानबिन र सामाजिक सद्भावमा जोड

विवेक विवश रेग्मी ११ साउन २०८३ १५:३५ | Monday, July 27, 2026
12
SHARES
सुनसरीमा सर्वपक्षीय प्रतिबद्धता : निष्पक्ष छानबिन र सामाजिक सद्भावमा जोड सुनसरी सदरमुकाम इनरुवामा सोमबार बसेको सर्वपक्षीय बैठक।

इटहरी- सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको साम्प्रदायिक झडपपछि जिल्लाका राजनीतिक दल, सुरक्षा निकाय, जनप्रतिनिधि तथा सरोकारवाला पक्षले निष्पक्ष छानबिन, कानुनी प्रक्रिया र सामाजिक सद्भाव कायम गर्न साझा प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा सोमबार जिल्ला प्रशासन कार्यालय इनरुवामा बसेको सर्वपक्षीय बैठकले घटनाको सत्यतथ्य बाहिर ल्याउन गृह मन्त्रालयले गठन गरेको पाँच सदस्यीय छानबिन समितिलाई आवश्यक सबै सहयोग गर्ने निर्णय गरेको हो।

बैठकले कुनै पनि व्यक्ति वा समूहलाई कानुनभन्दा माथि नराखी निष्पक्ष अनुसन्धानमार्फत दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएको छ।

बैठकले घटनापछि जिल्लाको शान्तिसुरक्षा अवस्था थप जटिल बन्न नदिन सबै पक्ष जिम्मेवार र संयमित ढंगले प्रस्तुत हुने सहमति गरेको छ। स्थानीय तहमा शान्तिसुरक्षा मजबुत बनाउन सुरक्षा निकायलाई आवश्यक सहयोग गर्ने, अफवाह र उत्तेजक गतिविधिबाट टाढा रहने तथा सामाजिक सद्भाव खलबल्याउने कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता पनि सहभागीहरूले जनाएका छन्।

प्रमुख जिल्ला अधिकारी घिमिरेले घटनाको वास्तविकता अनुसन्धानबाट मात्रै स्थापित हुने भएकाले कुनै पनि अफवाहमा विश्वास नगरी कानुनी प्रक्रियामा सहयोग गर्न सबै पक्षसँग आग्रह गरे। समुदायबीच आपसी विश्वास कायम राख्दै संयमता अपनाउन उनले विशेष अपिलसमेत गरेका छन्।

बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो।

देवानगन्ज–३ कप्तानगन्जमा आइतबार राति बोलबम यात्राका क्रममा बजाइएको डिजेलाई लिएर सुरु भएको विवाद दुई समुदायबीच हिंसात्मक झडपमा परिणत भएको थियो। झडपका क्रममा दुवै पक्षबाट ढुंगा, लाठी, चिर्पट र भालासहित आक्रमण हुनुका साथै सुरक्षाकर्मीमाथि समेत आक्रमण भएको थियो।

अवस्था नियन्त्रणबाहिर गएपछि सशस्त्र प्रहरीले गोली चलाउँदा देवानगन्ज-४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। गोली लागेर अन्य नौ जना सर्वसाधारण घाइते भएका छन्।

घटनापछि गृह मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति गठन गरी घटनाको कारण, सुरक्षा व्यवस्थाको अवस्था, बल प्रयोगको परिस्थिति तथा समग्र घटनाक्रमबारे अनुसन्धान अघि बढाएको छ। जिल्लास्थित सरोकारवाला पक्षले समितिको अनुसन्धानमा पूर्ण सहयोग गर्दै सत्यतथ्य सार्वजनिक गर्न र सामाजिक सद्भाव कायम राख्न संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।

सेना परिचालन

सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि उत्पन्न तनाव नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ।

आइतबार राति सुरु भएको हिंसात्मक घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या परिचालन गरिए पनि अवस्था पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेपछि स्थानीय प्रशासनले कर्फ्यु जारी गरी नेपाली सेना परिचालन गरेको हो।

कप्तानगन्जसहित घुस्की, भुटाहा र देवानगञ्ज बजार क्षेत्रमा जारी अनिश्चितकालीन कर्फ्युका बीच सोमबार प्रदर्शनकारीले टायर बाल्ने, तोडफोड तथा आगजनी गरेपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ। कोशी प्रदेशका विभिन्न जिल्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र दंगा नियन्त्रण टोलीसमेत घटनास्थलमा पठाइएको छ।

सुरक्षा निकायले संवेदनशील क्षेत्रहरूमा संयुक्त गस्ती बढाएको छ भने कुनै पनि अप्रिय घटना हुन नदिन सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त परिचालन जारी रहेको जनाएको छ।

आइतबार राति झडप नियन्त्रणका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा नौ जना गोली लागेर घाइते भएका छन् भने सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरूको विराटनगर र इनरुवास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला सुरक्षा समितिले सुरक्षा अवस्थाको निरन्तर समीक्षा गरिरहेको छ भने प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।

प्रकाशित: ११ साउन २०८३ १५:३५ | Monday, July 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast