काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगन्ज नगरपालिका-३ कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन्।
सोमबार जारी अपिलमा आङ्देम्बेले उक्त घटनामा दुई जनाको मृत्यु हुनु र दर्जनौँ व्यक्ति घाइते हुनु अत्यन्त पीडादायी भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
घटनापछि उत्पन्न संवेदनशील परिस्थितिमा सबै पक्षले उच्चतम संयमता अपनाउनुपर्नेमा जोड दिँदै उनले हिंसा, आगजनी, तोडफोड र प्रतिशोधले कुनै पनि समस्याको समाधान नहुने बताएका छन्। उनले सम्बन्धित दुवै पक्षलाई शान्त रहन, सहिष्णुता कायम राख्न र आपसी सद्भाव जोगाउन आग्रह गरेका छन्।
आङ्देम्बेले सुरक्षाकर्मीलाई पनि कानुनको पालना गर्दै अधिकतम संयमता अपनाएर शान्तिसुरक्षाको वातावरण कायम गर्न आग्रह गरेका छन्। साथै, सरकारले घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने तथा दोषीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने उनको माग छ।
उनले शान्तिसुव्यवस्था कायम गर्न नसक्नु गृह मन्त्रालयको गम्भीर कमजोरी भएको टिप्पणी गर्दै यस घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र गृहमन्त्रीले तत्काल सार्वजनिक रूपमा जवाफ दिनुपर्ने बताएका छन्।
अपिलमा आङ्देम्बेले पछिल्लो समय सरकारप्रति नागरिकको असन्तोष तीव्र रूपमा बढ्दै गएको उल्लेख गर्दै आत्मदाहजस्ता दुःखद घटनादेखि सामाजिक शान्ति, सुरक्षा र सहिष्णुतासँग सम्बन्धित संवेदनशील घटनाहरू पटकपटक दोहोरिनु सरकार प्रभावकारी रूपमा जिम्मेवारी निर्वाह गर्न असफल भएको संकेत भएको बताएका छन्।
साथै, उनले संवेदनशील अवस्थालाई थप उत्तेजित बनाउने गरी सामाजिक सञ्जालमार्फत असहिष्णुता फैलाउने गतिविधिबाट जिम्मेवार व्यक्तिहरू टाढा रहनुपर्ने बताएका छन्।
आङ्देम्बेले शान्ति, सामाजिक सद्भाव र आपसी विश्वास जोगाउनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै कुनै पनि उक्साहट वा अफवाहको पछि नलागी संवाद, सहिष्णुता र कानुनी प्रक्रियामार्फत समस्याको समाधान खोज्न सबैमा अपिल गरेका छन्।


