कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्रीको निर्देशन

हिमाल प्रेस २१ असार २०८३ २१:२० | Sunday, July 5, 2026
8
SHARES
कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्रीको निर्देशन फाइल तस्बिर
विराटनगर-  गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा तत्काल खाली गराउन निर्देशन दिएका छन्।स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहित आइतबार साँझ अस्पतालको स्थलगत निरीक्षणमा पुगेका गृहमन्त्री गुरुङले सरकारी र सार्वजनिक जग्गा हडपेर बनाइएका अवैध संरचना हटाउन गृह प्रशासनलाई निर्देशन दिएका हुन्।

विभिन्न संघसंस्थाले अस्पतालको जग्गा वर्षौंदेखि कब्जा गरी व्यावसायिक प्रयोजनमा लगाएको पाइएपछि गृहमन्त्री गुरुङ आफैँ टोली लिएर अस्पताल परिसरको वस्तुस्थिति बुझ्न पुगेका थिए। अस्पताल प्रशासनले अतिक्रमित संरचना हटाउन दिएको १५ दिने म्याद सकिएको दुई दिनपछि गृहमन्त्री र स्वास्थ्यमन्त्रीको टोलीले आकस्मिक निरीक्षण गरेको हो।

निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले कानुनको बर्खिलाप हुने गरी सार्वजनिक जग्गा ओगट्ने जो कोहीलाई पनि नछाडिने बताए। अस्पतालको स्वामित्वमा रहेको जग्गा खाली गराउने अभियानमा गृह मन्त्रालयले स्थानीय प्रशासन र सुरक्षा निकायलाई पूर्ण रूपमा परिचालन गर्ने उनको भनाइ थियो।

स्वास्थ्यमन्त्री निशा मेहताले अस्पतालले दिएको समयसीमा सकिँदा पनि संरचना खाली नहुनु दुःखद् भएको भन्दै अबको एक हप्ताभित्र यो ठाउँ खाली गराइने प्रतिबद्धता जनाइन्।

कोशी अस्पतालका नाममा रहेको विराटनगर–७ स्थित कित्ता नम्बर १२, १५, २२, ११, २६ र २३ को जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना बनाई भाडामा लगाएका छन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाले अस्पतालको जग्गा फिर्ता हुने प्रक्रियाले गति लिनेमा विश्वास व्यक्त गरे।

प्रकाशित: २१ असार २०८३ २१:२० | Sunday, July 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast