एडुकेसन इन्टरनेसनलद्वारा विद्यालय कर्मचारी परिषद्को जारी आन्दोलनमा ऐक्यबद्धता

हिमाल प्रेस १८ असार २०८३ १५:१६ | Thursday, July 2, 2026
44
SHARES
एडुकेसन इन्टरनेसनलद्वारा विद्यालय कर्मचारी परिषद्को जारी आन्दोलनमा ऐक्यबद्धता

काठमाडौँ- एडुकेसन इन्टरनेसनल (ईआई) एसिया प्रशान्त क्षेत्रीय कार्यालयले नेपाल विद्यालय कर्मचारी परिषद् (एनएसईसी) र नेपालभरका विद्यालय सहयोगी कर्मचारीहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ।

ईआई एसिया प्रशान्तका क्षेत्रीय निर्देशक आनन्द सिंहले परिषद्का अध्यक्ष गंगाराम तिवारीलाई पठाएको पत्रमार्फत विद्यालय कर्मचारीले उचित पारिश्रमिक, मर्यादित कार्य वातावरण, पेसागत मान्यता र अधिकार सुनिश्चित गर्न गरिरहेको संघर्षप्रति पूर्ण समर्थन व्यक्त गरेका हुन्।

पत्रमा गुणस्तरीय सार्वजनिक शिक्षा विद्यालय सहयोगी कर्मचारीहरूको समर्पण र योगदानमा निर्भर रहने उल्लेख गर्दै विद्यालय सञ्चालनलाई प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन उनीहरूको भूमिका अपरिहार्य रहेको जनाइएको छ।

विद्यार्थी, विद्यालय र समुदायप्रतिको उनीहरूको योगदान सम्मान, उचित मूल्यांकन र न्यायोचित प्रतिफलको हकदार रहेको पनि पत्रमा उल्लेख छ।

एडुकेसन इन्टरनेसनलको सदस्य संस्थाका रूपमा नेपाल विद्यालय कर्मचारी परिषद् विश्वभरका ३ करोड ३० लाखभन्दा बढी शिक्षक तथा विद्यालय सहयोगी कर्मचारीहरूको प्रतिनिधित्व गर्ने विश्वव्यापी आन्दोलनको हिस्सा रहेको पत्रमा उल्लेख गरिएको छ।

उक्त आन्दोलनले मर्यादित रोजगारी, सामाजिक न्याय, समानता र सबैका लागि गुणस्तरीय सार्वजनिक शिक्षाको पक्षमा काम गर्दै आएको जनाएको छ।

क्षेत्रीय निर्देशक सिंहले नेपाल विद्यालय कर्मचारी परिषद्ले उठाउँदै आएका पारिश्रमिक, सेवासुविधा, सामाजिक सुरक्षा तथा पेसागत मान्यतासम्बन्धी मागहरू गम्भीर र जायज रहेको उल्लेख गर्दै ती विषयलाई रचनात्मक सामाजिक संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

उनले नेपाल सरकार र सम्बन्धित निकायलाई परिषद्सँग इमानदार र सद्भावपूर्ण संवाद गरी लामो समयदेखि समाधान हुन नसकेका समस्याको निकास निकाल्न आग्रह गरेका छन्।

दिगो समाधान परामर्श, पारस्परिक सम्मान र सामाजिक संवादबाट भएका सहमतिहरूको कार्यान्वयनमार्फत मात्रै सम्भव हुने उनको भनाइ छ।

पत्रमा विद्यालय सहयोगी कर्मचारीहरूको संगठन खोल्ने, आफ्ना ट्रेड युनियनमार्फत प्रतिनिधित्व गर्ने तथा रोजगारी र सार्वजनिक शिक्षा प्रणालीसँग सम्बन्धित निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न पनि आग्रह गरिएको छ।

एडुकेसन इन्टरनेसनल एसिया प्रशान्त परिवारले नेपाल विद्यालय कर्मचारी परिषद् र सम्पूर्ण सदस्यहरूप्रति पूर्ण ऐक्यबद्धता व्यक्त गर्दै आन्दोलन सफलताको शुभकामना दिएको छ।

विद्यालय कर्मचारीका मागहरू शान्तिपूर्ण, रचनात्मक र सार्थक सामाजिक संवादमार्फत समाधान हुने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित: १८ असार २०८३ १५:१६ | Thursday, July 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast