कोशीमा कांग्रेसका मन्त्रीहरूको राजीनामा तयारी

हिमाल प्रेस ३२ असार २०८३ ११:३८ | Thursday, July 16, 2026
16
SHARES
कोशीमा कांग्रेसका मन्त्रीहरूको राजीनामा तयारी

इटहरी- प्रदेश सरकारको सत्ता सहकार्यमा नेकपा एमाले र नेपाली कांग्रेसबीचको दरारको प्रत्यक्ष असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेपाली कांग्रेसले एमाले नेतृत्वका प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेसँगै कोशी प्रदेश सरकार पनि राजनीतिक रूपमा नयाँ मोडमा पुगेको हो।

कोशी प्रदेश कांग्रेसले सरकारमा आफ्नो सहभागिताबारे निर्णय गर्न बहीबार संसदीय दल र पार्टी नेतृत्वको बैठक बोलाएको छ। बैठकले सरकारबाट मन्त्रीहरूलाई फिर्ता बोलाउने औपचारिक निर्णय गर्ने स्रोतले जनाएको छ। निर्णय भएलगत्तै कांग्रेसका मन्त्रीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।

केन्द्रमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमपछि नेपाली कांग्रेसले एमालेसँगको सहकार्यलाई निरन्तरता दिन नसकिने निष्कर्ष निकालेको छ। कांग्रेस महामन्त्री गुरुराज घिमिरेले सुदूरपश्चिममा उत्पन्न राजनीतिक परिस्थितिपछि एमाले नेतृत्वका प्रदेश सरकारबाट कांग्रेस बाहिरिने प्रक्रिया सुरु भएको र क्रमशः सबै प्रदेशमा यही निर्णय कार्यान्वयन हुने बताएका छन्।

यसको प्रभाव कोशी प्रदेशमा पनि देखिएको हो। कांग्रेसभित्र संस्थापन र संस्थापनइतर समूहबीच विभिन्न विषयमा मतभेद रहे पनि सरकारबाट बाहिरिने विषयमा भने दुवै पक्ष एकमत रहेको नेताहरू बताउँछन्। पार्टीभित्र प्रतिपक्षमा बस्ने वा नयाँ सत्ता समीकरण निर्माण गर्नेबारे छलफल भइरहे पनि तत्कालका लागि सरकारबाट बाहिरिने निर्णयमा विवाद नरहेको स्रोतको दाबी छ।

मुख्यमन्त्री कार्कीको सचिवालयले पनि कांग्रेसका मन्त्रीहरूको बहिर्गमनलाई लगभग निश्चित मानेर आन्तरिक तयारी थालेको छ। सचिवालय निकट स्रोतका अनुसार केन्द्रको राजनीतिक घटनाक्रम र कांग्रेसको आन्तरिक छलफललाई नजिकबाट नियालिएको छ।

कांग्रेस सरकारबाट बाहिरिएपछि कोशी प्रदेश सरकारको अंकगणित र आगामी सत्ता समीकरणबारे राजनीतिक वृत्तमा बहस सुरु भएको छ। कांग्रेसले नेकपासँग सम्भावित सहकार्यबारे प्रारम्भिक संवाद थालेको चर्चा भए पनि त्यसबारे कुनै औपचारिक सहमति भइसकेको छैन। यदि नयाँ समीकरण बन्न सकेन भने कांग्रेस प्रतिपक्षमा बस्ने विकल्पमा जाने तयारीमा रहेको नेताहरूको भनाइ छ।

प्रकाशित: ३२ असार २०८३ ११:३८ | Thursday, July 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast