काठमाडौँ- नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको मंगलबार निधन भएको छ। पार्टीका उपसभापति विश्वप्रकाश शर्माका अनुसार उनको उपचारका क्रममा निधन भएको हो।
क्यान्सरपीडित ८३ वर्षीय श्रेष्ठको ललितपुरको जाउलाखेलस्थित हेलिअस हस्पिटलमा निधन भएको हो।
स्याङ्जाबाट पटकपटक संसद्मा निर्वाचित श्रेष्ठले विगतमा उपप्रधानमन्त्री, भौतिक योजना तथा निर्माण मन्त्री, वन तथा भूसंरक्षण मन्त्री, उद्योगमन्त्री र शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
कांग्रेस सभापति गगन थापाले केही दिनअघि श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका थिए। केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन भने गर्न बाँकी थियो।
तत्कालीन कांग्रेस(प्रजातान्त्रिक)का कार्यबाहक सभापति समेत रहेका श्रेष्ठले पूर्वसभापति शेरबहादुर देउवा समूह छाडेर गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा सहभागी भएका थिए।
श्रेष्ठको शव बुधबार बिहान ८ बजेदेखि ११:०० बजेसम्म नेपाली कांग्रेस पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिनेछ। त्यसपछि शव यात्रासहित पशुपति आर्यघाटमा दाहसंस्कार लगिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।


