सुनसरीमा दुई समूहबीच झडप, प्रहरीको गोली लागेर एकक‍ो मृत्यु

हिमाल प्रेस ११ साउन २०८३ ६:१६ | Monday, July 27, 2026
8
SHARES
सुनसरीमा दुई समूहबीच झडप, प्रहरीको गोली लागेर एकक‍ो मृत्यु

इटहरी– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटनामा सर्वसाधारण र सुरक्षाकर्मीसहित १८ जना घाइते भएका छन्।

मृतक देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहता रहेको सुनसरी प्रहरीका निमित्त प्रमुख डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए। गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा आइतबार राति करिब ११ः२५ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार आइतबार राति करिब १०ः१५ बजेदेखि दुई समूहबीच सुरु भएको विवाद उग्र बन्दै गएपछि घर, पसल, मेडिकल, सवारीसाधन तथा अन्य संरचनामा तोडफोड र आगजनीसमेत भएको थियो। अवस्था नियन्त्रणबाहिर गएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सुरक्षाकर्मीले सुरुमा लाठीचार्ज, अश्रुग्यास र हवाई फायर गरी भीड नियन्त्रण गर्ने प्रयास गरेका थिए। त्यसबाट पनि स्थिति नियन्त्रणमा नआएपछि बाध्य भएर गोली चलाइएको प्रहरीको भनाइ छ।

घटनामा गोली लाग्नुका साथै झडपमा परी १० जना सर्वसाधारण घाइते भएका छन्। उनीहरूको विराटनगरस्थित न्यूरो अस्पताल, विराट नर्सिङ होम, कोशी अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

घाइतेमध्ये कोशी अस्पतालमा उपचाररत २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादव रहेका छन्। विराट नर्सिङ होममा २१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र २६ वर्षीय सुनिलकुमार मेहतासहित अन्य घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ। अधिकांशको अवस्था मध्यमदेखि सामान्य रहेको छ भने केहीलाई थप उपचार आवश्यक परेको छ।

झडपका क्रममा प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी पनि घाइते भएका छन्। राईको टाउकोमा चोट लागेर टाँका लगाइएको प्रहरीले जनाएको छ। अन्य घाइते सुरक्षाकर्मीको अवस्था सामान्य रहेको छ।

प्रहरी र स्थानीयका अनुसार युवाहरूको एक समूह साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो। सोही क्रममा अर्को समूहसँग विवाद सुरु भएको र पछि झडपमा परिणत भएको प्रारम्भिक जानकारी आएको छ। यद्यपि, विवादको वास्तविक कारणबारे प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ।

घटनापछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेको थियो। सुरक्षा निकायले क्षेत्रको अवस्था नियन्त्रणमा आएको जनाएको छ भने थप अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या परिचालन गरिएको छ।

प्रहरीले घटनाको कारण, गोली चलाउनुपर्ने अवस्था र झडपमा संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: ११ साउन २०८३ ६:१६ | Monday, July 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast