नेकपा (एमाले) का महासचिव शंकर पोखरेल
काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुनसरीको पछिल्लो घटनापछि सरकारले नागरिकमा विश्वास जगाउने गरी अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
बुधबार सिंहदरबारमा सम्पन्न सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले संकटका बेला सरकारले नागरिकलाई सुरक्षित र संरक्षित महसुस गराउने वातावरण बनाउनुपर्नेमा जोड दिए।
उनले सुनसरीका बासिन्दाले सरकार आफ्नो अभिभावकका रूपमा उभिएको अनुभूति गर्नुपर्ने उल्लेख गर्दै सुरक्षा निकायको मनोबल कमजोर हुनु वा भिड व्यवस्थापन प्रभावकारी नहुनुले यस्ता घटना दोहोरिन सक्ने बताए।
सुरक्षा कारबाहीका क्रममा नागरिकको ज्यान नजाने गरी संवेदनशील ढंगले काम गर्नुपर्ने उनको भनाइ थियो।
सुनसरीको देवानगन्जस्थित कप्तानगन्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न अवस्थाबारे छलफल गर्न सरकार नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बिहान सिंहदरबारमा सर्वदलीय बैठक आयोजना गरिएको थियो।
बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले महासचिव पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन तथा अन्य राजनीतिक दलका नेताहरू सहभागी थिए।


