नेपाल-एडीबीबीच १६५ मिलियन डलरको ऋण सम्झौता

हिमाल प्रेस २३ असार २०८३ १३:४५ | Tuesday, July 7, 2026
12
SHARES
नेपाल-एडीबीबीच १६५ मिलियन डलरको ऋण सम्झौता

काठमाडौँ- नेपाल सरकारले एसियाली विकास बैंक (एडीबी)सँग करिब १६५ मिलियन अमेरिकी डलर (झन्डै २५ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ। एडीबीका अध्यक्ष मासातो कान्डाको नेपाल भ्रमणका क्रममा नेपाल सरकार र एडीबीबीच उक्त ऋणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।

अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालका अनुसार एकीकृत खानेपानी तथा ढल व्यवस्थापन कार्यक्रम तथा दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गत लजिस्टिक सुधार कार्यक्रम कार्यान्वयनका लागि ऋण सम्झौता गरिएको हो।

सम्झौतामा अर्थमन्त्री स्वर्णिम वाग्ले र एडीबी अध्यक्ष मासातो कान्डाको उपस्थितिमा नेपालको तर्फबाट अर्थसचिव घनश्याम उपाध्याय तथा एडीबीका तर्फबाट नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार एकीकृत खानेपानी तथा ढल व्यवस्थापन कार्यक्रमका लागि ११५ मिलियन अमेरिकी डलर र सासेक लजिस्टिक सुधार कार्यक्रमका लागि ५० मिलियन अमेरिकी डलर ऋण उपलब्ध गराइनेछ। अर्थ मन्त्रालयका अनुसार उक्त रकम भन्सार कार्यप्रक्रिया, लजिस्टिक्स सेवा आधुनिकीकरण तथा सम्बन्धित सुधार कार्यक्रमलाई बजेटरी सहायताका रूपमा परिचालन गरिनेछ।

सम्झौतापछि अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालको विकास यात्रामा एडीबीले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि दुवै पक्षबीचको साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

एडीबी अध्यक्ष मासातो कान्डाले नेपालसँगको करिब ६ दशक लामो सहकार्यलाई निरन्तरता दिँदै आगामी दिनमा विकास साझेदारीलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने प्रतिबद्धता जनाए।

प्रकाशित: २३ असार २०८३ १३:४५ | Tuesday, July 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast