३१ दिनदेखि सभापतिसँग कुनै संवाद भएको छैन : खड्का

हिमाल प्रेस २४ जेठ २०८३ १९:१६ | Sunday, June 7, 2026
24
SHARES
३१ दिनदेखि सभापतिसँग कुनै संवाद भएको छैन : खड्का फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगनकुमार थापासँग आफ्नो कुनै पनि संवाद नभएको बताएका छन्। पार्टीको आन्तरिक विवाद मिलाउन सभापति थापासँग संवाद भइरहेको चर्चा चलिरहेका बेला पूर्वकार्यवाहक सभापति खड्काले यस्तो बताएका हुन्।

उनले सभापति थापासँग संवाद नभएको आइतबार (आज) ३१ दिन पुगेको जिकिर गरेका छन्।

‘म अन्ततः यो स्टाटस लेख्न बाध्य भएको छु,’ खड्काले सामाजिक सञ्जालमा लेखेका छन्,‘विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका विभिन्न भ्रमपूर्ण हल्लाबाट प्रभावित नहुन पार्टीका सबै तहका पदाधिकारीहरु, नेताहरु र क्रियाशील सदस्य साथीहरु सबैमा प्रस्ट पार्न चाहन्छु, सभापति गगनकुमार थापाजीसँग मेरो कुनै पनि प्रकृतिको सम्पर्क–संवाद नभएको आज ३१ दिन भयो।’

उनले पार्टीको सम्पूर्ण एकताका लागि दुई महिनादेखि इमानदार प्रयत्न गर्दा पनि खासै कुनै प्रगति नभएको उल्लेख गरेका छ। अहिले आएर केही दिनदेखि यता विकसित घटनाबाट आफू चिन्तित रहेको खड्काले जिकिर गरेका छन।

पूर्वकार्यवाहक सभापति खड्काले १५ औँ महाधिवेशनका लागि आफूहरूले नवीकरण गराएका र नयाँ क्रियाशील सदस्यहरुलाई अध्यावधिकको नाममा दिइएको दबाब पार्टी जीवनका लागि घातक रहेको बताएका छन्।

‘…हामीले नवीकरण गराएका नयाँ क्रियाशील सदस्य साथीहरूलाई अध्यावधिकको नाममा दिइएका दबाबका कुराहरु देशैभरिबाट फोनबाट ४–५ दिनदेखि मलाई साथीहरूले जुन तरिकाले जानकारी गराइ राख्नुभएको छ यो प्रवृत्ति पार्टी जीवनका लागि अत्यन्त घातक छ, म सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ खड्काले भनेका छन्।

उनले आफूहरूले नवीकरण गराएका र नयाँ क्रियाशील सदस्यता लिएकाहरुलाई अध्यावधिक नगराएका निहुँमा कसैलाई १५ औँ महाधिवेशनमा भाग लिनबाट कसैले बञ्चित गराउन नपाउने प्रस्ट पारेका छन्।

‘सबैलाई महाधिवेशनमा स्वतः भाग लिन पाउने व्यवस्थाको सुनिश्चितता गर्नु हाम्रो जिम्मेवारी हो–ढुक्क हुनुस्!,’ उनले भनेका छन्,‘नेताहरुको क्रियाशील सदस्यता अद्यावधिक स्वतः केन्द्रले गराइ दिन्छ भन्ने दुई दिनदेखि फैलाइएका अफवाहरु पार्टी पंक्तिमा भ्रम पार्न गराइएका हल्ला मात्र हुन्।’

प्रकाशित: २४ जेठ २०८३ १९:१६ | Sunday, June 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast