तमिलनाडु प्रदेशका मुख्यमन्त्री एवं टीभीके प्रमुख विजय
काठमाडौँ- भारतको तमिलनाडु प्रदेशका मुख्यमन्त्री एवं टीभीके प्रमुख विजयले आफ्नो राज्यका जनतालाई एउटा अनौठो उपहार दिने घोषणा गरेका छन्। अहिले यसको चर्चा भारतभर भइरहेको छ।
मुख्यमन्त्री विजयले एउटा नयाँ योजना ‘थाई मामन गोल्ड रिङ स्किम’ सुरू गर्ने घोषणा गरेका हुन्।
यस योजनाअन्तर्गत सरकारी अस्पतालमा जन्मिने बालबालिकालाई उपहारस्वरूप एक ग्रामको सुनको औँठी दिइनेछ। सोमबारको दरअनुसार यस औँठीको भारतीय मूल्य १३ हजार ६०० रुपैयाँ हुनेछ।
तमिलनाडु सरकारले ‘थाई मामन गोल्ड रिङ स्किम’ का लागि हरेक वर्ष ७५५.८३ करोड रुपैयाँ खर्च गर्नेछ। साथै मुख्यमन्त्री विजयले अधिकारीहरुलाई यो योजना लागू गर्नका लागि तुरुन्तै टेन्डर प्रक्रिया सुरू गर्न निर्देशन दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
सरकारले जनाएअनुसार मुख्यमन्त्री विजयले यस योजनालाई आधिकारिक रुपमा १५ सेप्टेम्बरमा पूर्वमुख्यमन्त्री सी.एन.अन्नादुरईको जयन्तीको अवसर पारेर सुरु गर्नेछन्। तर, यो योजना २२ जुन (विजयको जन्मदिन) देखि नै लागू भएको मानिनेछ।
उल्लेखनीय छ कि २२ जुन २०२६ मुख्यमन्त्री विजयको जन्मदिनदेखि सरकारी अस्पतालमा जन्मिएका बालबालिकाहरुले यस योजनाको लाभ पाउनेछन्।




