अन्ततः विजय बन्ने भए तमिलनाडुका मुख्यमन्त्री

हिमाल प्रेस २६ वैशाख २०८३ १७:४२ | Saturday, May 9, 2026
24
SHARES
अन्ततः विजय बन्ने भए तमिलनाडुका मुख्यमन्त्री

काठमाडौँ- भारतको तमिलनाडु राज्यमा विधानसभा निर्वाचनको मतगणनाको अन्तिम परिणाम आएको पाँच दिन बितिसक्दा पनि सरकार गठन हुन सकेको छैन।

कुनै पनि दलले बहुमतको आँकडा प्राप्त गर्न नसकेपछि त्यहाँ सरकार गठन प्रक्रिया लम्बिएको हो।

पहिलोपटक चुनावमा भाग लिएको दक्षिण भारतका लोकप्रिय अभिनेता विजय ‘थलापति’ नेतृत्वको टीवीके पार्टी १०८ सहित सबैभन्दा ठुलो दल बने पनि बहुमतको आँकडा प्राप्त नगरेपछि सरकार बनाउन सकेको छैन।

विधानसभा निर्वाचनको सबैभन्दा ठूलो दल भन्दै टीवीकेले सरकार गठनका लागि राज्यपाललाई तीनपटक भेटर दाबी पेस गरिसकेको छ। तर, राज्यपालले टीवीके प्रमुख विजयलाई सरकार गठन गर्न आह्वान गरेका छैनन्।

बहुमतका लागि चाहिने आवश्यक संख्या नपुगेको भन्दै राज्यपालले टीवीकेलाई सरकार गठनका लागि आह्वान नगरेको बताइएको छ। जबकि यसअघि मुख्यमन्त्री रहेका एमके स्टालिनले पनि ठूलो दलको हैसियतले टीवीकेलाई सरकार गठनका लागि आह्वान गर्न राज्यपाललाई आग्रह गरेका छन्।

बहुमतको अंकगणितका कारण तमिलनाडुमा देखिएको सरकार गठनसम्बन्धी समस्या भने अब निकास पाउने दिशामा अगाडि बढेको देखिन्छ। विजयको पार्टी टीवीकेलाई कांग्रेस, सीपीआई र सीपीएमपछि अब वीसीकेले पनि समर्थन जनाउने भएपछि त्यहाँ देखिएको विवाद अन्त्य हुने दिशामा अगाडि बढेको हो। वीसीकेले पनि समर्थन जनाएपछि तमिलनाडुमा अब विजयको नेतृत्वमा सरकार बन्ने लगभग पक्का भएको छ।

वीसीकेका नेता थोल थिरुमावलवनले टीवीके नेता आधव अर्जुनलाई पार्टीको समर्थनपत्र हस्तान्तरण गरेका छन्।

शुक्रबार टीवीके प्रमुख विजयले राज्यपाल राजेन्द्र अर्लेकरसँग भेट गरी सरकार बनाउने दाबी पेस गरेका थिए। राज्यपालसँग उनको यो तेस्रो भेट थियो।

राज्यपालसँगको भेटपछि टीवीके नेता विजयले व्यक्तिगत रुपमा भारतीय कम्युनिस्ट पार्टी (सीपीआई) र भारतीय कम्युनिस्ट पार्टी–माक्र्सवादी (सीपीएम) को कार्यालय पुगेर पार्टी नेताहरुसँग भेट गरेका थिए।

२३४ सिट भएको तमिलनाडु विधानसभा चुनावमा टीवीकेले १०८ सिट जितेको छ। विजयले दुई स्थानबाट जित हासिल गरेकाले उनले एक सिटबाट राजीनामा दिनुपर्ने हुन्छ। जसले गर्दा टीवीकेको संख्या १०७ पुग्नेछ।

त्यस अवस्थामा सदनको कुल संख्या घटेर २३३ हुनेछ। र, बहुमतका लागि ११७ सदस्यहरूको समर्थन आवश्यक पर्नेछ।

कांग्रेसले पाँच सिट जितेको छ भने, सीपीआई, सीपीएम र वीसीकेले दुई–दुई सिट जितेका छन्। यसरी अब वीसीकेसमेत गरी विजयको पक्षमा ११९ विधायकहरू पुग्नेछन्। यो बहुमतका लागि आवश्यक संख्याभन्दा बढी हो।

विजयले तमिलनाडुका राज्यपाललाई तीनपटक भेटे र हरेकपटक सरकार बनाउने दाबी पेस गरे। राज्यपालले ११८ विधायकहरूको समर्थन देखाउन भनेका थिए। राज्यपालको यो अडानलाई एक अवकाशप्राप्त आईपीएस अधिकारीले चुनौती दिँदै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

प्रकाशित: २६ वैशाख २०८३ १७:४२ | Saturday, May 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast