काठमाडौँ- संखुवासभाको चैनपुर नगरपालिका-३ स्थित शारदा माध्यमिक विद्यालय, पोखरीका सामाजिक विषयका शिक्षक सुमन विकल कोशी प्रदेशस्तरीय सामाजिक विषय शिक्षण सिकाइ प्रतियोगितामा प्रथम भएका छन्।
शिक्षा विकास निर्देशनालय, धनकुटाले आयोजना गरेको माध्यमिक तहका विषयगत शिक्षकबीचको कोशी प्रदेशस्तरीय शिक्षण सिकाइ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विकलले प्रथम स्थान हासिल गरेका हुन्। प्रतियोगिता गत चैत महिनादेखि विभिन्न चरणमा सञ्चालन गरिएको थियो।
प्रतियोगितामा प्रथम भएपछि शिक्षा विकास निर्देशनालयले बिकललाई नगद २० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरेको छ। प्रमाणपत्रमा शिक्षा विकास निर्देशनालयका निर्देशक कृष्णप्रसाद पोखरेल, उपनिर्देशक सूर्यराज घिमिरे तथा सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुखको हस्ताक्षर रहेको छ।
यसै प्रतियोगितामा धनकुटाका किशोर भण्डारी द्वितीय तथा ओखलढुंगाका घनबहादुर काफ्ले तृतीय भएका छन्।




