बाँझो पाखोबारीलाई हराभरा बनाउँदै सुजन चोखालको फलफूल बगैँचा

हिमाल प्रेस २२ जेठ २०८३ ११:१० | Friday, June 5, 2026
6
SHARES
बाँझो पाखोबारीलाई हराभरा बनाउँदै सुजन चोखालको फलफूल बगैँचा

म्याग्दी- बेनी नगरपालिका-९ गिठिनीका सुजन चोखालले बाझिँएको पाखोबारीमा झाडी फाँडेर फलफूल बगैँचा स्थापना गरेका छन्। रामकृष्ण कृषि, पशुपन्छी तथा फलफूल नर्सरीका सञ्चालक २६ वर्षीय चोखालले पाखोबारीलाई सुन्तला, कागती, टिमुर, ओखर, किबी र अकबरे खुर्सानीखेती गरेर हराभरा बनाएका हुन्।

‘बालिविज्ञान विषयको पढाइ सकेर २०७५ सालमा स्थापना गरेको फार्ममा फलफूलका बिरुवा उत्पादन गर्दै आएको थिएँ’,उनले भने,‘यसपालि उत्तिस र वनमाराले भरिएको दुई ठाउँमा ३० रोपनी बाँझो पाखोबारीमा झाडी फाडेर फलफूलखेती सुरु गरेको छु।’

पाँच सय सुन्तला, एक सय कागती, दुई सय टिमुर, ४० वटा ओखर र ३० बोट किबी लगाएका चोखालले सात रोपनीमा ‘मल्चिङ’ विधिबाट अकबरे खुर्सानीखेती गरेका छन्। उनको फार्ममा पाँच हजार सुन्तला र सात हजार कागतीका बिरुवा छन्। सात हजार तीनपाते सुन्तला, सातसात सय टिमुर र अम्बाको बिरुवा तयारी अवस्थामा छन्।

‘नर्सरीका सबै बिरुवा बिक्री भयो भने रु १५ लाख आम्दानी हुने अनुमान गरेको छु’,चोखालले भने,‘फलफूलखेती र बिरुवा उत्पादनका साथै पाँच सय स्थानीय जातका कुखुरा र दुई सय ५० कालिज पनि पालेको छु।’ माछा र माहुरी पनि पालिएको उक्त फार्ममा १६ रोपनीमा अदुवाखेती भएको छ। बेनी नगरपालिका-२ बगरफाँटमा केराखेती पनि सुरु भएको छ।

रघुगंगा गाउँपालिका-२ मा रहेको मुक्तिधाम माध्यमिक विद्यालयमा कृषि प्राविधिक विषयको सहायक प्रशिक्षक रहेका चोखाल साँझ, बिहान र बिदाको समयमा फार्ममा व्यस्त छन्। उनलाई भाइहरू पशु प्राविधिक राम र इन्जिनियरिङ अध्ययन गरेका कृष्णले फार्म सञ्चालनमा सघाउँदै आएका छन्।

वार्षिक रु २० लाखदेखि रु २५ लाखको कारोबार हुने फार्ममा घरपरिवारका सदस्यबाहेक सिजनमा ७० देखि ८० जनाले रोजगारी पाएका सञ्चालक चोखालले बताए। कृषि विकास कार्यालयले नर्सरीको पलास्टिक घर निर्माण र अदुवाखेतीका लागि सहयोग गरेको छ। चोखाल दाजुभाइ नर्सरी, कुखुरापालन र फलफूलखेतीबाट स्वरोजगार र आत्मनिर्भर बनेका छन्।

रोजगारी र अवसरको खोजीमा धेरै युवा विदेश र बजार पलायन भइरहेको समयमा चोखाल दाजुभाइले बाँझिएको पाखोबारीलाई हराभरा बनाएर सकारात्मक सन्देश दिएका उनका छिमेकी सन्दीप खत्रीले बताए। बिरुवा, फलफूल र कुखुरा खरिदका लागि ग्राहक फार्ममै आउँछन्। बजारको समस्या छैन। काम गर्ने जनशक्ति नपाउनु फार्म सञ्चालनमा मुख्य चुनौती बनेको सञ्चालक चोखालले बताए।

प्रकाशित: २२ जेठ २०८३ ११:१० | Friday, June 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast